काठमाडौं – डडेल्धुरामा किबीखेती विस्तार हुँदै गएसँगै व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या पनि बढ्दै गएको छ । खेती हुने क्षेत्रफल र उत्पादन बढे पनि बजार मूल्य घट्दै जाँदा किसानलाई उचित आम्दानी सुनिश्चित गर्न चुनौती देखिएको छ ।
कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा हाल २३ हेक्टर क्षेत्रफलमा किबीखेती भइरहेको छ। गत आर्थिक वर्षमा १९ मेट्रिकटन किबी उत्पादन भएको केन्द्रका प्रमुख नरेन्द्र पनेरुले बताए । उहाँका अनुसार अघिल्लो वर्ष १९ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट १० मेट्रिकटन किबी उत्पादन भएको थियो ।
उत्पादन बढ्दै गए पनि किबीको मूल्य भने घट्दै गएको किसान बताउँछन् । अमरगढी नगरपालिका–३ चिर्किट्टेका किसान प्रजापति पनेरुका अनुसार पाँच वर्षअघि प्रतिकिलो ४०० रुपैयाँभन्दा बढीमा बिक्री हुने किबीको मूल्य अहिले घटेर १५० रुपैयाँसम्म पुगेको छ । कैलाली र कञ्चनपुरलगायतका बजारका व्यापारीले किसानको बारीबाटै किबी खरिद गरेर लैजाने गरेका छन् ।
आलिताल गाउँपालिका–२ लामिटुँडाका लक्ष्मण थापामगरले २०७२ सालमा दोलखाबाट ११६ वटा किबीका बिरुवा ल्याएर खेती सुरु गर्नुभएको थियो । अहिले उहाँको बगैँचामा ३०० भन्दा बढी किबीका बोट छन्। खेतीसँगै उहाँले किबीको नर्सरीसमेत सञ्चालन गर्दै आउनुभएको छ। गत वर्ष उहाँले ७५ क्विन्टल किबी बिक्री गरेका थिए ।
त्यस्तै, नेपाली सेनाबाट अवकाश पाएपछि अमरगढी नगरपालिका–२ कुस्मालीका खडक थापामगर पनि किबीखेती र नर्सरी व्यवसायमा संलग्न हुनुभएको छ । उनले रातो र पहेँलो किबीको बिरुवा प्रतिगोटा २०० रुपैयाँ तथा हरियो किबीको बिरुवा १५० रुपैयाँमा बिक्री गर्दै आएको छ ।
किबीखेतीलाई प्रोत्साहन गर्न कृषि ज्ञान केन्द्रले बगैँचा व्यवस्थापन, थाक्रा निर्माण, मल तथा बिरुवा खरिदमा ५० प्रतिशत अनुदान सहयोग गर्दै आएको छ। केन्द्रका अनुसार गत आर्थिक वर्षमा किबी बगैँचा व्यवस्थापन तथा प्रवर्द्धनका लागि १५ लाख रुपैयाँ खर्च गरिएको थियो ।
जिल्लामा किबीखेती विस्तार र उत्पादन वृद्धि भइरहे पनि बजार विस्तार तथा मूल्य सुनिश्चित गर्नु किसानका लागि मुख्य चुनौती बनेको छ। उत्पादनले उचित मूल्य पाउने व्यवस्था गर्न सके किबीखेतीलाई थप व्यावसायिक बनाउन सकिने किसानको भनाइ छ ।






















