images
images
  • चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा, सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं – बङ्गालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा देखिन थालेको छ । यसको प्रभावले देशका विभिन्न क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बिहीबारदेखि मौसम थप प्रभावित हुने र शनिबारसम्म विभिन्न प्रदेशमा वर्षा हुने पूर्वानुमान छ ।

    विभागकी मौसमविद् बिनु महर्जनका अनुसार चक्रवात भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको छ । उक्त प्रणाली क्रमशः उत्तरपश्चिमतर्फ सर्दै आगामी दिनमा कमजोर अवस्थामा उत्तर प्रदेश र बिहार आसपास पुग्ने अनुमान गरिएको छ ।

    ‘चक्रवातको प्रभाव नेपालमा देखिन थालिसकेको छ । हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ,’ महर्जनले भनिन्, ‘बिहान लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षासमेत भएको थियो ।’

    सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना

    मौसमविद् महर्जनका अनुसार शनिबारसम्म कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

    त्यस्तै, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी तथा एकदुई स्थानमा अति भारी वर्षा हुन सक्ने विभागको अनुमान छ । कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन, चट्याङ तथा असिनासहित वर्षा हुन सक्ने सम्भावना पनि रहेको छ ।

    धानबाली भित्र्याउने किसानलाई सतर्क रहन आग्रह

    सम्भावित वर्षाले कृषि कार्य, पर्वतारोहण, पदयात्रा तथा पर्यटन गतिविधिमा असर पार्न सक्ने भन्दै मौसमविद् महर्जनले आवश्यक सतर्कता अपनाउन आग्रह गरेकी छन् । विशेषगरी धानबाली भित्र्याउने किसानलाई मौसमको पूर्वानुमान हेरेर काम गर्न र उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्ने पर्यटकलाई मौसम अनुकूल नभएसम्म सुरक्षित स्थानमा रहन उनले सुझाव दिएकी छन् ।

    वर्षाका कारण बाढी, पहिरो, सडक अवरोध तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सर्वसाधारण र सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी गर्न आग्रह गरिएको छ ।

    रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images