काठमाडौं – जापानका पूर्व राष्ट्रिय फुटबल प्रशिक्षक ताकेशी ओकादाले जापान फुटबल संघ (जेएफए) को उपाध्यक्ष पदबाट राजीनामा दिएका छन् । विश्व फुटबल महासंघ (फिफा) र विश्वकपसँग जोडिएका पछिल्ला घटनाक्रममा व्यक्त प्रतिक्रियाहरू आफ्नो व्यक्तिगत मान्यता र खेलकुदको इमानदारीसम्बन्धी विश्वाससँग मेल नखाएको बताउँदै उनले पद छाडेका हुन् ।
सन् १९९८ र २०१० को विश्वकपमा जापानको प्रशिक्षक रहेका ओकादाको राजीनामा एसियाली फुटबल महासंघ (एएफसी) ले फिफा अध्यक्ष जियानी इन्फान्टिनोको पुनःनिर्वाचन अभियानलाई समर्थन गरेको एक सातापछि आएको हो । एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल(खलिफाले टोकियोमा भएको बैठकमा इन्फान्टिनोलाई समर्थन गर्ने घोषणा गरेका थिए ।
ओकादाले आफूले पूर्णतः स्वेच्छाले राजीनामा दिएको बताएका छन्। खेलकुद इमानदारीपूर्वक सञ्चालन हुनुपर्ने र यसको सामाजिक महत्त्वलाई प्राथमिकता दिनुपर्ने आफ्नो मान्यता रहेको उल्लेख गर्दै उनले विश्वकपसँग सम्बन्धित पछिल्ला घटनाक्रमप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
“मेरो सम्पूर्ण खेलजीवनमा खेलकुद इमानदारीपूर्वक सञ्चालन हुनुपर्छ भन्ने मान्यताका आधारमा मैले यसको सामाजिक महत्त्वलाई उच्च प्राथमिकता दिएको छु । तर, हालैको फिफा विश्वकपसँग जोडिएका घटनाक्रममा अपनाइएका प्रतिक्रियाहरू र मेरा व्यक्तिगत मान्यताबीच ठूलो अन्तर छ । एक खेलाडीका रूपमा म त्यसलाई स्वीकार गर्न सक्दिनँ,” ओकादाको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
फिफाका प्रमुख प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई हिस्सेदारी दिने इन्फान्टिनोको योजनालाई लिएर केही महिनायता अन्तर्राष्ट्रिय फुटबलमा विवाद हुँदै आएको छ । विश्वकपलगायतका प्रतियोगितासँग सम्बन्धित व्यावसायिक अधिकार निजी लगानीकर्ताका लागि खुला गर्ने प्रस्तावको विरोधमा युरोपेली फुटबल महासंघ (यूईएफए), उत्तर तथा मध्य अमेरिका र क्यारिबियन क्षेत्रको फुटबल महासंघ (कन्काकाफ) तथा एएफसीका पदाधिकारीले आलोचना गरेका थिए । विवादित व्यावसायिक योजना पछि त्यागिएको थियो ।
यसअघि एएफसीले उक्त योजनालाई लिएर फिफासँग विश्वासको सङ्कट उत्पन्न भएको जनाएको थियो । तर, पछिल्लो समय एएफसी अध्यक्ष शेख सलमानले इन्फान्टिनोको पुनःनिर्वाचनलाई समर्थन गरेपछि एसियाली फुटबलको अडानमा परिवर्तन आएको देखिएको छ । यही पृष्ठभूमिमा ओकादाको राजीनामालाई फिफाको नेतृत्व र विश्वकपसम्बन्धी निर्णयप्रति असन्तुष्टिको रूपमा हेरिएको छ ।
ओकादाले एएफसीसँगको सम्बन्ध र त्यसले जापानी फुटबलमा पार्न सक्ने प्रभावलाई आफूले बुझेको पनि बताएका छन् । जापानले क्षेत्रीय फुटबल निकायसँगको सम्बन्धलाई ध्यानमा राख्दै एएफसीको अडानसँग मेल खाने व्यावहारिक कारणहरू रहेको स्वीकार गरे पनि पछिल्ला घटनाक्रम आफ्ना मान्यतासँग नमिलेको उनको भनाइ छ ।
सन् २०१६ देखि फिफाको नेतृत्व गर्दै आएका इन्फान्टिनो आगामी मार्चमा हुने निर्वाचनबाट अर्को कार्यकालका लागि अध्यक्ष बन्ने प्रयासमा छन् । निजी लगानीसम्बन्धी प्रस्ताव असफल भएपछि उनले माफी मागेका थिए। उनको पुनःनिर्वाचन अभियानमा विभिन्न फुटबल संघको समर्थन र विरोध दुवै देखिएको छ ।
.
ओकादाले आफ्नो निर्णय गम्भीर र बारम्बारको विचार(विमर्शपछि लिएको बताएका छन्। उनको राजीनामाले फिफाको नेतृत्व, विश्वकपको व्यावसायीकरण र अन्तर्राष्ट्रिय फुटबलको प्रशासनबारे जारी बहसलाई थप चर्चामा ल्याएको छ ।























