काठमाडौं – विश्व इतिहासमा अक्टोबर २९ राजनीतिक परिवर्तन, आर्थिक सङ्कट, अन्तर्राष्ट्रिय द्वन्द्व र प्रविधिको विकाससँग जोडिएको महत्त्वपूर्ण दिन हो । यस दिन टर्की गणतन्त्रको स्थापना भएको थियो भने अमेरिकी सेयर बजारमा ऐतिहासिक गिरावट, सुएज सङ्कटको सुरुआत र आधुनिक इन्टरनेटको विकासक्रममा महत्त्वपूर्ण मानिने पहिलो सन्देश प्रसारणको प्रयासलगायतका घटना भएका थिए ।
टर्की गणतन्त्रको स्थापना
सन् १९२३ अक्टोबर २९ मा मुस्तफा कमाल अतातुर्कको नेतृत्वमा टर्कीलाई गणतन्त्र घोषणा गरिएको थियो। अटोमन साम्राज्यको विघटनपछि स्थापित गणतन्त्रको पहिलो राष्ट्रपति अतातुर्क बने । उनले टर्कीमा राजनीतिक, सामाजिक र प्रशासनिक सुधारको नेतृत्व गरेका थिए। गणतन्त्र स्थापनाको सम्झनामा टर्कीले प्रत्येक वर्ष अक्टोबर २९ मा राष्ट्रिय गणतन्त्र दिवस मनाउँछ।
अमेरिकी सेयर बजारमा ऐतिहासिक गिरावट
सन् १९२९ अक्टोबर २९ मा अमेरिकी सेयर बजारमा ठूलो गिरावट आयो। ‘ब्ल्याक ट्युज्डे’ अर्थात् ‘कालो मङ्गलबार’का रूपमा चिनिने यस दिन न्युयोर्कको वाल स्ट्रिटस्थित सेयर बजारमा लगानीकर्ताले ठूलो परिमाणमा सेयर बिक्री गरेका थिए । बजारमा तीव्र गिरावट आएपछि लगानीकर्ताको विश्वास कमजोर बन्यो र आर्थिक सङ्कट थप गहिरियो । सन् १९२९ को सेयर बजार दुर्घटना अमेरिकामा सुरु भएको महामन्दीको प्रमुख घटनामध्ये एक थियो, जसको प्रभाव विश्वका विभिन्न अर्थतन्त्रमा समेत परेको थियो ।
सुएज सङ्कटको सुरुआत
सन् १९५६ अक्टोबर २९ मा इजरायली सेनाले इजिप्टको सिनाई प्रायद्वीपमा आक्रमण सुरु गरेपछि सुएज सङ्कटले सैन्य रूप लियो। इजिप्टका राष्ट्रपति गमाल अब्देल नासेरले सुएज नहर राष्ट्रियकरण गरेपछि बेलायत, फ्रान्स र इजरायलसँग तनाव बढेको थियो। त्यसपछि बेलायत र फ्रान्सले पनि सैन्य हस्तक्षेप गरे । यस घटनाले मध्यपूर्वमा तनाव बढाउनुका साथै अन्तर्राष्ट्रिय कूटनीति र विश्व शक्तिहरूबीचको सम्बन्धमा गहिरो प्रभाव पारेको थियो ।
आधुनिक इन्टरनेटको विकासमा ऐतिहासिक सन्देश
सन् १९६९ अक्टोबर २९ मा अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालय, लस एन्जलस ९यूसीएलए० का अनुसन्धानकर्ताहरूले एआरपानेटमार्फत स्ट्यानफोर्ड रिसर्च इन्स्टिच्युटमा रहेको कम्प्युटरमा सन्देश पठाउने प्रयास गरेका थिए । उनीहरूले शब्द पठाउन खोजेका थिए, तर प्रणाली अवरुद्ध हुनुअघि अक्षर मात्र अर्को कम्प्युटरसम्म पुगेको थियो । उक्त प्रयासलाई कम्प्युटर नेटवर्कको विकासक्रममा ऐतिहासिक क्षण मानिन्छ । एआरपानेटलाई आधुनिक इन्टरनेटको आधार तयार गर्ने प्रारम्भिक नेटवर्कमध्ये एकका रूपमा लिइन्छ ।
जर्मन नौसेनामा विद्रोह
प्रथम विश्वयुद्धको अन्तिम चरणमा सन् १९१८ अक्टोबर २९ मा जर्मन नौसेनाका सैनिकहरूले बेलायती नौसेनामाथि अन्तिम आक्रमण गर्ने योजनाप्रति असन्तुष्टि जनाउँदै आदेश पालना गर्न अस्वीकार गर्न थालेका थिए । युद्धको अन्त्य नजिकिँदै गर्दा सैनिक र सर्वसाधारणमा बढेको असन्तुष्टि विद्रोहका रूपमा फैलियो। त्यस घटनाक्रमले जर्मनीमा सन् १९१८ को क्रान्ति र राजतन्त्रको पतनतर्फको प्रक्रियालाई गति दिन योगदान पुर्यायो ।
अमेरिकी राष्ट्रपति विलियम म्याकिनलीका हत्यारालाई मृत्युदण्ड
सन् १९०१ अक्टोबर २९ मा अमेरिकी राष्ट्रपति विलियम म्याकिनलीको हत्या गर्ने लियोन चोलगोस्जलाई न्युयोर्कको अबर्न जेलमा विद्युतीय कुर्सीमार्फत मृत्युदण्ड दिइएको थियो । चोलगोस्जले सन् १९०१ सेप्टेम्बर ६ मा म्याकिनलीमाथि गोली प्रहार गरेका थिए । घाउमा सङ्क्रमण भएपछि सेप्टेम्बर १४ मा म्याकिनलीको मृत्यु भएको थियो। त्यसपछि चोलगोस्जलाई पक्राउ गरी मुद्दा चलाइएको थियो र दोषी ठहर भएपछि मृत्युदण्ड दिइएको थियो ।






















