काठमाडौं– गएको भदौ २३ पछि दुर्घटनाको डिलमा पुग्यो कांग्रेस । त्यसका ड्राइभर सिटमा बसेका तत्कालीन सभापति शेरबहादुर देउवा घाइते भए । ड्राइभर घाइते भएपछि या त फेर्नुपछि या उसको उपचारका लागि पर्खनुपर्छ । कांग्रेस रुपी गाडी ग्यारेजमा थन्किएको अवस्थामा देखियो । तर सङ्कटकालीन अवस्थामा जुरुक्कै काँध थापे वर्तमान सभापति गगन थापाले ।
जेनजी आन्दोलनले दिएको सन्देश पनि दलहरूभित्रको परिवर्तन थियो । रूपान्तरण र पुस्तान्तरणको दोसाँधमा उभिनु थियो । यो लाइनमा उभिए गगन थापाहरू । पुरानै लाइनमा उभिए देउवा ।
अन्ततः डिलमा पुगेको कांग्रेस रुपी बस यस बेला मध्य बाटोमा आएको छ । अब यसले कस्तो यात्रा गर्ला र कसरी हाँक्ला भन्ने चासो सबैतिरबाट छ । तर जे भए पनि यस बेला कांग्रेस मात्र होइन, देशको समस्यासँग जोडेर आशा गरिएका नेता हुन् गगन र उनको नेतृत्व पङ्क्ति ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले अब पार्टी आन्तरिक अलमलमा रुमल्लिएर बस्न नहुने बताउँदै पार्टीभित्रका फोहोर सफा गरेर अगाडि बढ्ने बताए । उनको यो भनाइले कांग्रेसमा नयाँ आशा पलाएको छ ।
उनले भने, ‘अब हामी घरभित्र अलमलिएर बस्ने होइन । पार्टीलाई थप सफा बनाएर लैजानुपर्छ, पार्टीभित्रको फोहोर पनि सफा गरेर लैजानुपर्छ ।’
थापाले नेपाली कांग्रेसले फरक–फरक पुस्तालाई जोड्दै अघि बढ्नुपर्ने बताउँदै सामाजिक सञ्जालमा लोकप्रिय हुने होडमा मात्रै लागेर पार्टीले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्ने बताए ।
उनले भने, ‘अब कसले सुन्छ, कसले सुन्दैन भनेर रिल्सको पछि कुदेर हुँदैन । विभिन्न मुद्दा र विषय छन् । यी विषयमा बन्द कोठामा बसेर चिन्तन गर्नुपर्छ, बहस गर्नुपर्छ ।’
कांग्रेसलाई समयानुकूल बनाउँदै विभिन्न पुस्ताका विचार र आवाजलाई समेटेर अघि बढ्नुपर्ने उनको भनाइ छ । उनले आफू सभापतिको रूपमा पार्टीको आन्तरिक काममा बढी नअलमलिने बताउँदै देशभर घुमेर जनतासँग भेट्ने र पार्टी बाहिरका काममा बढी समय दिन चाहेको बताए ।
उनले पार्टीको आन्तरिक काम उपसभापति र महामन्त्रीसहित केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूले गर्नुपर्ने आफ्नो धारणा रहेको बताए ।
यस बेला विशेष महाधिवेशनबाट चयन भएको गगन नेतृत्वको हिजोकै केन्द्रीय समितिलाई चुनौती दिँदै तत्कालीन सभापति शेरबहादुर देउवा पक्ष एकातिर कानुनी उपचारका नाममा अदालत धाइरहेको छ भने अर्कातिर समानान्तर महाधिवेशनको उल्झन निकालेर गुट भेला गरिरहेको छ । यही समयमा सम्पन्न कांग्रेस महाधिवेशनले नेतृत्व मात्र परिवर्तन नगरी नीति र नेतृत्व बदल्ने विषयसमेत संस्थागत गर्ने काम गरेको छ ।
३७ वर्षे राजनीतिक यात्रामा पार्टी राज्यसत्तामाथि चोटिला प्रश्न गरेर राजनीतिक उचाइ हासिल गरेका कांग्रेस सभापति गगनको अब भने प्रश्नसँगै जवाफदेहिताको परीक्षा आरम्भ भएको छ । अर्कातिर तत्कालीन कांग्रेस सभापति देउवाकालीन समयमा भएको कांग्रेसको क्षयीकरण फिर्ता ल्याउने चुनौती पनि सभापति थापामाथि थपिएको छ ।
प्रधानमन्त्री बन्ने स्वाभाविक आकांक्षासहित कांग्रेस सभापतिको सानेपास्थित कुर्सीमा पुगेका गगनसामु बरालिएर कांग्रेसबाट बाहिरिएका केही थान नेता (भ्रष्टबाहेक) लाई समेत समेट्दै एकीकृत पार्टी निर्माण गर्नुपर्ने दबाबसमेत उत्तिकै छ ।
गगनको अबको चुनौती भनेको आफूभन्दा कम उमेर समूहका नेताको प्रश्न र १५औं महाधिवेशनमा आफैंद्वारा पेस गरिएको राजनीतिक प्रस्तावको कार्यान्वयन हो । हिजोको नेतृत्वले गरेका दर्जनौं कमीकमजोरीमाथि कटाक्ष गर्दै आएका गगनलाई अबका दिनमा तिनै कमजोरी दोहोर्याउने छुट छैन ।
सानेपाको कुर्सी जति सुन्दर देखिन्छ, त्यसका वरिपरि रहेका काँडाले गगनलाई चस्काइरहन्छ । गगनको यो नेतृत्व नेता पारिवर्तनको सन्देश मात्र होइन, यसले तय गर्ने यात्रा सफल र असफलको समेत रेखा कोरेर बसेको छ ।
जेनजी विद्रोहपश्चात् कांग्रेसका देशैभरका महाधिवेशन प्रतिनिधिले विद्रोह गर्ने आँट गर्दै विशेष महाधिवेशन गरी नेतृत्व परिवर्तन गरेका थिएनन् भने कांग्रेसको आजको ‘साइज’मा भारी गिरावट आउने निश्चित थियो ।
विद्रोहबाट सिर्जित खरानीबाट पार्टीलाई उठाएर यहाँसम्म ल्याउन गगन-विश्वलगायत नेतृत्वले जुन स्केलको चुनौती सामना गरे, त्यो अदम्य नै छ । अब विशेष र १५औं महाधिवेशनको विषय समाप्त भएको छ । हिजोको विशेष महाधिवेशनसमेतलाई १५औं महाधिवेशनले अनुमोदन गरिसकेको छ । अर्थात् खरानी टेकेर पलाएको पालुवा जस्तो देखिएको छ थापा र उनको नेतृत्वको कांग्रेस ।
जोखिमका बीचबाट पार्टीको आकार बढाउँदै लैजानु सामान्य विषय होइन । सँगै पार्टीमा निर्वाचनका माध्यमबाट प्रवेश पाएका केन्द्रदेखि स्थानीय तहसम्मका कार्यसमितिका नेतालाई परिवर्तनसँगै विचारले सुसज्जित गर्न नसक्ने हो भने कांग्रेस पार्टी स्वयम् भिडमा रूपान्तरण हुने खतरा उत्तिकै छ । जुन काम, अर्थात् नेता-कार्यकर्तालाई पर्याप्त वैचारिक प्रशिक्षणबाट प्रशिक्षित गर्ने विषय सभापति गगनबाट अपेक्षाकृत छ ।
‘कठिन प्रश्नहरूबाट भाग्दिनँ, कठोर निर्णयहरू गर्ने कुराबाट चुक्दिनँ’ भन्ने भनाइबाट सभापति थापामा आत्मविश्वास पाइन्छ । तर विषयको ठम्याइसँगै कार्यान्वयनका लागि भने सभापति थापासँग ‘टीम स्पिरिट’ मिल्न बाँकी नेतृत्व चाहिन्छ । नयाँ कांग्रेस निर्माण गर्ने सङ्कल्प एक्लैले पार लाग्ने विषय होइन । त्यसैका निम्ति हो, टीम चाहिने ।























