काठमाडौं– अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि चुनावबाट राष्ट्रपति डोनाल्ड ट्रम्प थप बलियो भएर उदाउने दावी गरेका छन् । उनले ट्रम्पको चुनावी सफलता अमेरिका मात्र नभई समग्र पश्चिमी जगतका लागि महत्त्वपूर्ण हुने बताए ।
बुधबार आयोजित हिस्पानिक हेरिटेज गालामा बोल्दै मिलेईले गोलाद्र्धमा आफ्नो पक्षको पुननर्विजयका लागि कुनै पनि अवसर गुमाउन नहुने बताए ।
‘जित्नु पहिलो चरण मात्र हो । अब हामीसँग अमेरिकालाई फेरि महान बनाउने जनादेश छ’, उनले भने ।
मिलेई बुधबार अमेरिकी राजधानी वासिङ्टन पुगेका थिए । उनले त्यहाँ लगानीकर्ताहरूसँग भेटघाट गरेका छन् । त्यस्तै अमेरिकी वाणिज्य सङ्घमा सम्बोधन गर्ने कार्यक्रम छ ।
मिलेई ल्याटिन अमेरिकामा ट्रम्पका निकट सहयोगीमध्ये एक हुन् । एक वर्षअघि अर्जेन्टिनामा महत्त्वपूर्ण विधायी निर्वाचन हुन लाग्दा ट्रम्पले उनलाई दृढ समर्थन गरेका थिए । ट्रम्पको समर्थन र अमेरिकी अर्थ मन्त्रालयसँग भएको मुद्रा विनिमय सम्झौताले उक्त निर्वाचनमा मिलेईको सफलतामा योगदान पुर्याएको थियो ।
पछिल्ला वर्षमा ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रमा दक्षिणपन्थी राजनीतिक धार तीव्र रूपमा बलियो बनेको छ । ट्रम्प पुनः ह्वाइट हाउस फर्किएपछि यो प्रवृत्ति अझ बढेको छ ।























