images
images
  • दसैं मनाउन काठमाडौं छाड्नेको लर्को, घटस्थापनादेखि २ लाख ६२ हजारभन्दा बढी बाहिरिए

    काठमाडौं – बडादसैँ मनाउन आफ्नो जन्मथलो फर्किनेको चाप बढेसँगै काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या दुई लाख ६२ हजार नाघेको छ । घटस्थापनादेखि बिहीबारसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले उपत्यका छाडेका हुन् ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त अवधिमा ३७ हजार ९६४ वटा सवारीसाधनमार्फत यात्रु उपत्यकाबाट बाहिरिएका छन् । दसैं नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा उपत्यकामा बसोबास गर्दै आएका नागरिक घर फर्किन थालेपछि प्रमुख नाका र बसपार्कमा यात्रुको चाप बढेको हो ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार पछिल्ला दिनमा उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढिरहेको छ । लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढेसँगै सडकमा सवारीसाधनको आवागमनसमेत बाक्लिएको छ ।

    दसैं मनाउन उपत्यका छाड्नेमा एक लाख १५ हजार ८६ जना महिला र एक लाख ६१ हजार १६७ जना पुरुष रहेको विवरणमा उल्लेख छ ।

    प्रमुख नाकामा यात्रुको चाप

    दसैंका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका नाकाबाट बाहिरिने सवारीसाधनको चाप बढेको छ ।

    उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुको आवागमन सहज बनाउन तथा सवारीसाधनको चाप व्यवस्थापन गर्न प्रमुख नाकाहरूमा निगरानी बढाएको जनाएको छ । चाडपर्वका समयमा यात्रुको सुरक्षा सुनिश्चित गर्ने र सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको एसएसपी काफ्लेले बताए ।

    “यात्रुको सुरक्षा र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको छ । हाम्रो उद्देश्य सबैको यात्रा सफल र सुरक्षित होस् भन्ने हो,” उनले भने ।

    उनले लामो दूरीको यात्रा गर्नुअघि सवारीसाधनको अवस्था जाँच गर्न, चालकको स्वास्थ्यमा ध्यान दिन र लगातार लामो समयसम्म सवारी नचलाउन आग्रह गरेका छन् । यात्रु तथा चालक दुवैले सावधानी अपनाउँदा सम्भावित दुर्घटना न्यूनीकरण गर्न सकिने उनको भनाइ छ ।

    प्रमुख सडकमा यातायात सञ्चालन

    यातायात व्यवस्था विभागका अनुसार नागढुङ्गा–नौबिसे सडकखण्ड, मुग्लिन–नारायणगढ सडक, कान्ति लोकपथ र बीपी राजमार्गलगायतका प्रमुख सडकमा दुवैतर्फ यातायात सञ्चालन भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images