काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न योग्यता, नेतृत्व क्षमता र पारदर्शी मूल्याङ्कनमा आधारित तीन चरणको प्रक्रिया अघि सारेको छ ।
पार्टीले सार्वजनिक गरेको ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा, २०८३’ अनुसार आकाङ्क्षीले उम्मेदवार क्लबमा आवेदन, लिडरसिप एकेडेमीमा प्रशिक्षण र छनोट रूपरेखामा आधारित परीक्षण पार गर्नुपर्नेछ ।
रास्वपाबाट स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न नेपाली नागरिक हुनुपर्ने, मनोनयनपत्र दर्ताको अन्तिम मितिसम्म २१ वर्ष पूरा गरेको हुनुपर्ने र सम्बन्धित गाउँपालिका वा नगरपालिकाको वडाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ । साथै, प्रचलित कानुनले उम्मेदवार हुन अयोग्य नठहर्याएको हुनुपर्ने व्यवस्था छ ।
पार्टीको विधानअनुसार आकाङ्क्षी रास्वपाको सक्रिय सदस्य हुनुपर्ने तथा पार्टीको विचार, सिद्धान्त र सार्वजनिक प्रतिबद्धताप्रति पूर्ण रूपमा प्रतिबद्ध हुनुपर्नेछ । अन्य राजनीतिक दलको सदस्यता त्यागेको हुनुपर्ने र पार्टीले माग गरेका आवश्यक कागजात उपलब्ध गराउन तयार हुनुपर्नेछ ।
उम्मेदवारले शैक्षिक प्रमाणपत्रको सत्यता पुष्टि गर्नुपर्नेछ । सम्पत्ति विवरण, प्रहरी चारित्रिक प्रमाणपत्र, आर्थिक कारोबार, स्वार्थको द्वन्द्व तथा अदालत वा अन्य निकायमा विचाराधीन कानुनी विवादसम्बन्धी विवरणसमेत खुलाउनुपर्ने व्यवस्था गरिएको छ । घरेलु हिंसा, यौन दुव्र्यवहार, सार्वजनिक रूपमा अमर्यादित व्यवहार र डिजिटल दुव्र्यवहारमा संलग्न नरहेको स्वघोषणा पनि गर्नुपर्नेछ ।
रास्वपाले उम्मेदवार छनोट प्रक्रिया तीन चरणमा अघि बढाउने रूपरेखामा उल्लेख गरेको छ । पहिलो चरणमा आकाङ्क्षीले पार्टीको उम्मेदवार क्लबमा औपचारिक आवेदन दिनुपर्नेछ । यस क्रममा व्यक्तिगत पृष्ठभूमि, अनुभव, विशेषज्ञता र आधारभूत योग्यताको विवरण सङ्कलन तथा परीक्षण गरिनेछ ।
दोस्रो चरणमा लिडरसिप एकेडेमीमार्फत प्रशिक्षण दिइनेछ । त्यसपछि तेस्रो चरणमा निर्धारित मापदण्डका आधारमा आकाङ्क्षीहरूको परीक्षण र मूल्याङ्कन गरिनेछ । मूल्याङ्कनमा सार्वजनिक आचरण, नेतृत्व क्षमता, स्थानीय समुदायसँगको सम्बन्ध, संगठनात्मक क्षमता, जनविश्वास र निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्ने सम्भावनालाई आधार बनाइनेछ ।
रूपरेखाअनुसार उम्मेदवार छनोटमा प्रारम्भिक निर्वाचनबाट प्राप्त मतलाई पनि समावेश गरिनेछ । मतभारसहित विभिन्न सूचकमा प्राप्त अङ्कलाई समग्र मूल्याङ्कनमा जोडेर उम्मेदवारको छनोट गरिनेछ । महिला, युवा तथा विभिन्न सामाजिक र भौगोलिक समुदायको प्रतिनिधित्वलाई समेत ध्यान दिइनेछ । अन्तिम सूचीमा परेका आकाङ्क्षीको कानुनी योग्यता र समावेशितासम्बन्धी मापदण्ड परीक्षण गरेपछि मात्रै आधिकारिक उम्मेदवारका रूपमा प्रमाणित गरिने व्यवस्था छ ।
रास्वपाले लिडरसिप एकेडेमीलाई उम्मेदवारको नेतृत्व क्षमता विकास गर्ने र स्थानीय तहको जिम्मेवारी सम्हाल्न तयार पार्ने महत्त्वपूर्ण चरणका रूपमा राखेको छ । उम्मेदवार बन्न चाहने आकाङ्क्षीलाई स्थानीय शासन सञ्चालन, नागरिक सेवा प्रवाह, नीति निर्माण, सुशासन, सार्वजनिक वित्त व्यवस्थापन, नागरिक सहभागिता र नेतृत्वका विविध पक्षमा प्रशिक्षण दिने लक्ष्य राखिएको छ ।
एकेडेमीको उद्देश्य उम्मेदवारलाई निर्वाचन जित्ने प्रतिस्पर्धामा मात्रै सीमित नराखी निर्वाचित भएपछि प्रभावकारी रूपमा काम गर्न सक्ने बनाउनु हो। स्थानीय आवश्यकता र उपलब्ध स्रोतसाधन बुझ्ने, नागरिकका समस्या सम्बोधन गर्ने तथा स्थानीय सरकारलाई परिणाममुखी ढङ्गले सञ्चालन गर्न सक्ने नेतृत्व विकासमा जोड दिइएको छ ।
यसका साथै, एकेडेमीमा गरिएको मूल्याङ्कनलाई उत्तीर्ण वा अनुत्तीर्णमा मात्रै सीमित नराखी प्राप्त अङ्कलाई अन्तिम उम्मेदवार छनोटको समग्र मूल्याङ्कनमा समावेश गरिने व्यवस्था गरेको छ । यसबाट व्यक्तिगत पहुँच वा नेताको निर्णयभन्दा निर्धारित मापदण्ड, क्षमता र प्राप्ताङ्कका आधारमा उम्मेदवार छनोट गर्ने प्रणाली विकास गर्ने पार्टीको लक्ष्य रहेको उल्लेख छ ।






















