काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सहयोग गरिरहेको भन्ने दाबीप्रति अविश्वास व्यक्त गर्दै त्यसो गरेमा दुवै देशले धेरै गुमाउनुपर्ने बताएका छन् ।
उनले सहयोग भइरहेको भए पनि सीमित स्तरमा हुनसक्ने उल्लेख गरेका छन् ।
ट्रम्पले सोमबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘चीन र रुसले इरानलाई सहयोग गरिरहेका छन् भन्ने कट्टरपन्थी वामपन्थीका टिप्पणी देखिरहेको छु । उनीहरूले सहयोग गरिरहेका छन् भने पनि निकै कम स्तरमा छ । तर उनीहरूले सहयोग गरिरहेका छन् भन्ने मलाई विश्वास छैन ।’
गत साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको करिब डेढ घण्टा लामो टेलिफोन वार्तामा आर्थिक सहयोग, ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय विषयमा छलफल भएको थियो । त्यसपछि ट्रम्पले रुसले अमेरिकी तथा विश्व बजारमा तत्काल तीन लाख टनभन्दा बढी डिजेल इन्धन आपूर्ति गर्ने र आगामी महिनाहरूमा थप आपूर्ति गर्ने सहमति भएको दाबी गरेका थिए । उनले यसबाट डिजेलको मूल्य घट्ने बताएका छन् ।
यसैगरी गत सेप्टेम्बरमा चिनियाँ राष्ट्रपति सी जिनपिङको तीनदिने वासिङ्टन भ्रमणका क्रममा दुई नेताबीच भेटवार्ता भएको थियो । ६ महिनाभन्दा कम अवधिमा भएको दोस्रो भेटपछि अमेरिका र चीनले दुवै दिशामा ३० अर्ब अमेरिकी डलर बराबरका गैरसंवेदनशील वस्तुको व्यापारमा अनुकूल भन्सार महसुल व्यवस्था गर्ने तथा उदीयमान प्रविधिमा संवाद अघि बढाउने सहमति गरेका थिए ।
ह्वाइट हाउसको तथ्यपत्रअनुसार दुवै देशले सन् २०२६ को मेमा बेइजिङमा स्थापित व्यापार तथा लगानीसम्बन्धी बोर्ड सञ्चालनमा ल्याएका छन् । चीनले सन् २०२७ र २०२८ मा कम्तीमा एक करोड मेट्रिक टन अमेरिकी कोइला आयात गर्न पनि सहमति जनाएको छ ।






















