images
images
  • वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने २ महिलासहित ४ जना पक्राउ

    काठमाडौं– वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु. ८० लाख ४८ हजार ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बागलुङको तमानखोला गाउँपालिका–४ का २२ वर्षीय दीपक श्रीपाली, ललितपुरको महालक्ष्मी नगरपालिका–५ की ३४ वर्षीया नेहा अधिकारी, पाँचथरको याङवरक गाउँपालिका–६ का ४२ वर्षीय सुमन योङहाङ र चन्द्रागिरी नगरपालिका–६ की ४२ वर्षीया सुस्मिता नेपाली रहेका छन् ।

    प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनीहरूले वैदेशिक रोजगारीका लागि टर्की, बेलायत र दक्षिण कोरिया पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

    प्रहरीका अनुसार दीपकले टर्की पठाइदिने भन्दै एक पीडितबाट रु. २ लाख ४८ हजार, नेहाले बेलायत पठाइदिने भन्दै रु. ६७ लाख, सुमनले दक्षिण कोरिया पठाइदिने भन्दै रु. ६ लाख र सुस्मिताले बेलायत पठाइदिने भन्दै रु. ५ लाख लिएको आरोप छ ।

    चारै जनाले गरी रु. ८० लाख ४८ हजार ठगी गरेको आरोप लागेको छ । उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images