images
images
  • पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    काठमाडौं – काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। निरन्तर वर्षाका कारण पहिरो पन्छाउन कठिनाइ भएपछि राजमार्ग सञ्चालनमा ल्याउन ढिलाइ भएको हो।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टका अनुसार पहिरो हटाएर राजमार्ग पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ । तर, निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउने काममा समस्या भइरहेको उनले बताए ।

    राजमार्ग अवरुद्ध हुँदा यस सडकखण्ड भएर आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्। वर्षा जारी रहेकाले राजमार्गका अन्य स्थानमा समेत पहिरो खस्न सक्ने जोखिम रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीले यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। वर्षाका कारण पहिरोको जोखिम बढ्न सक्ने भएकाले यात्रा गर्दा सावधानी अपनाउनसमेत प्रहरीले आग्रह गरेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images