काठमाडौं– दुई उत्तर कोरियाली युद्धबन्दीलाई दक्षिण कोरियामा गोप्य रूपमा पठाइएको विषयमा विवाद चर्किएपछि दक्षिण कोरियाले युक्रेनका लागि आफ्नो राजदूत फिर्ता बोलाउने घोषणा गरेको छ ।
राष्ट्रपति ली जे म्युङले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युद्धबन्दीको स्थानान्तरण सार्वजनिक गरेकोमा माफी नमागे थप कदम चाल्ने चेतावनी दिएका थिए ।
यद्यपि, युक्रेनले विवादका बाबजुद वार्ताका लागि तयार रहेको जनाएको छ ।
रूसको पक्षबाट युक्रेनविरुद्ध लड्न खटिएका ती दुई उत्तर कोरियाली सैनिकलाई सन् २०२५ को सुरुतिर युक्रेनले नियन्त्रणमा लिएको थियो ।
उनीहरूले स्वदेश फर्किएमा दुव्र्यवहार भोग्नुपर्ने आशंकाले दक्षिण कोरियामा बसोबास गर्ने इच्छा व्यक्त गरेका थिए ।
दक्षिण कोरियाले उत्तर कोरियाबाट भागेर आउने नागरिकलाई आश्रय दिने नीति अपनाउँदै आएको छ ।
दक्षिण कोरियाले सैनिकहरूको स्थानान्तरण गोप्य राख्ने सहमति उल्लङ्घन गरेको आरोप युक्रेनमाथि लगाए पनि किएभले त्यस्तो सहमति भएको अस्वीकार गरेको छ ।
विश्लेषकहरूका अनुसार विवादले रूस र उत्तर कोरियाबीचको सैन्य सहकार्यबारे जानकारी प्राप्त गर्ने दक्षिण कोरियाको प्रयासमा असर पार्न सक्छ ।
दक्षिण कोरियाले सन् २०२२ देखि युक्रेनलाई ४४ करोड ५० लाख अमेरिकी डलर मानवीय सहायता उपलब्ध गराएको छ ।
गत जुलाईमा राष्ट्रपति लीले युक्रेनलाई थप एक करोड अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।


विश्व खबर 




















