काठमाडौं– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मध्यपूर्व युद्ध अन्त्यका लागि सहयोग गर्न तयार रहेको बताएका छन् ।
उनले शुक्रबार क्षेत्रीय शिखर सम्मेलनअघि इरानी राष्ट्रपति मसुद पेजेस्कियानसँगको भेटमा यस्तो प्रस्ताव गरेका हुन् ।
पुटिनले अमेरिका र इजरायलले फेब्रुअरी २८ मा आक्रमण सुरु गरेयता इरानले युद्ध अन्त्यका लागि वास्तविक प्रयास गरिरहेको बताए ।
उनले रूस–इरान सम्बन्ध सकारात्मक रूपमा अघि बढिरहेको उल्लेख गरे।
तर, इरानले रूसलाई ड्रोन तथा क्षेप्यास्त्र उपलब्ध गराएको र रूसले अमेरिकी लक्ष्यमा आक्रमण गर्न इरानलाई सूचना दिएको आरोप दुवै देशले खेपिरहेका छन् ।
इरान र अमेरिकाबीचको वार्ता निष्कर्षमा पुग्न सकेको छैन ।
राष्ट्रपति पेजेस्कियानले अमेरिकी अडान एकपक्षीय रहेको भन्दै वार्तालाई अर्थहीन बताएका छन् ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर ३ को मध्यावधि निर्वाचनअघि इरानमाथि पुनः आक्रमण नगर्ने बताउँदै वासिङ्टन र तेहरानबीच फलदायी छलफल भइरहेको दाबी गरेका हुन् ।
पुटिन र पेजेस्कियान स्वतन्त्र राष्ट्रहरूको राष्ट्रमण्डल (सिआइएस) शिखर सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तान पुगेका हुन् ।
सन् १९९१ मा सोभियत सङ्घ विघटनपछि स्थापना भएको सङ्गठनबाट जर्जिया र युक्रेन बाहिरिएका छन् ।
विश्लेषकहरूका अनुसार युक्रेन युद्धपछि अन्तर्राष्ट्रिय रूपमा एक्लिएको रुसका लागि सिआइएस क्षेत्रीय प्रभाव देखाउने मञ्च हो ।
तर, सदस्य राष्ट्रहरूले चीन र पश्चिमी मुलुकसँग पनि सम्बन्ध विस्तार गरिरहेकाले रूसको अडानलाई स्वतः समर्थन नगर्ने कजाकिस्तानका अनुसन्धानकर्ता झानिबेक आरिनोभले बताएका छन् ।


विश्व खबर 




















