काठमाडौं – १४० मेगावाट क्षमताको निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको समग्र भौतिक प्रगति ७८ प्रतिशत पुगेको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माण भइरहेको आयोजनाका तीनवटै प्याकेजको काम तीव्र गतिमा अघि बढेको छ ।
आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्याकेज १ अन्तर्गत बाँध तथा हेडवर्क्सको काम ६३ प्रतिशत, प्याकेज २ अन्तर्गत मुख्य सुरुङ, विद्युत्गृह तथा उपकरणतर्फ ७९ प्रतिशत र प्याकेज ३ अन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइनको काम ८२ प्रतिशत सम्पन्न भएको छ ।
प्याकेज १ को काम सोङ्दा कालिका जेभीले गरिरहेको छ । मुख्य बाँध निर्माणका लागि डाँडा कटान, पहुँच सडक, सेती नदीको धार फर्काउन अस्थायी बाँध तथा दुईवटा डाइभर्सन सुरुङ निर्माण सम्पन्न भइसकेका छन् ।
आयोजनाको १४० मिटर अग्लो बाँध निर्माणका लागि २०८१ चैत ७ गते पहिलोपटक कङ्क्रिट राखिएको थियो । गत भदौमा मात्रै ३३ हजार ६८१ घनमिटर कङ्क्रिट राखिएको छ भने हालसम्म ५ लाख ७ हजार ४४२ घनमिटर कङ्क्रिटिङ सम्पन्न भएको छ ।
प्याकेज २ को काम सिनो हाइड्रो कर्पोरेसन चीनले गरिरहेको छ । विद्युत्गृह, केवल सुरुङ, सर्च ट्याङ्क र टेलरेसजस्ता संरचनाको मुख्य कङ्क्रिटिङ सम्पन्न भएको छ । जलाशयको पानी विद्युत्गृहसम्म पुर्याउने १ हजार ४१८.७५ मिटर लामो मुख्य सुरुङमध्ये १ हजार ४०७.७५ मिटरमा कङ्क्रिट लाइनिङ सम्पन्न भएको छ ।
त्यस्तै, प्याकेज ३ अन्तर्गत केइसी इन्टरनेसनल लिमिटेड भारतले निर्माण गरिरहेको ३३ किलोमिटर लामो दमौली–भरतपुर २२० केभी प्रसारण लाइनमा पर्ने ९४ टावरमध्ये ८३ वटाको जग निर्माण र ८० वटा टावर खडा गर्ने काम सकिएको छ ।
चितवन र तनहुँका डिभिजन वन कार्यालयबाट वन क्षेत्रमा प्रवेश तथा रूख कटानको अनुमति पाएपछि प्रसारण लाइन निर्माणले थप गति लिएको आयोजना प्रमुख भण्डारीले बताए ।


विश्व खबर 



















