images
images
  • झापामा साढे ४ करोड मूल्यका अवैध सामान बरामद

    काठमाडौं – सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वार्टर झापाले चालू आर्थिक वर्षको सुरुआतदेखि हालसम्म ४ करोड १५ लाख ६२ हजार ३७३ रुपैयाँ मूल्य बराबरका भन्सार छली तथा अवैध चोरी–निकासी र पैठारीका सामान बरामद गरेको छ ।

    गणका अनुसार साउनमा १ करोड ५५ लाख ५ हजार ६२६, भदौमा १ करोड ४८ लाख १ हजार ८१८ र असोजमा हालसम्म १ करोड १२ लाख ५४ हजार ९२९ रुपैयाँ मूल्यका अवैध सामान बरामद भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा २ करोड २० लाख ८९ हजार ५७८ रुपैयाँ मूल्यका सामान बरामद भएका थिए ।

    अवैध गतिविधिमा संलग्न चार जनालाई नियन्त्रणमा लिएर ३५ वटा सवारीसाधनसहित आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

    गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यका अनुसार सीमा क्षेत्रमा हुने भन्सार छली, चोरी–निकासी तथा पैठारी नियन्त्रण गर्न निगरानी र सुरक्षा परिचालन बढाइएको छ । भन्सार कार्यालय, नेपाल प्रहरीलगायत सम्बन्धित निकायसँग समन्वय गरी नाकाबाटै अवैध गतिविधि नियन्त्रण गर्ने गरी परिचालन गरिएको उनले बताए ।

    सशस्त्र प्रहरीले राजस्व चुहावटसँगै सीमा क्षेत्रमा हुने लागूऔषध ओसारपसार नियन्त्रणमा समेत निगरानी बढाएको छ। चालू आर्थिक वर्षमा हालसम्म ५८ दशमलव ८९ ग्राम ब्राउन सुगर बरामद गरिएको छ । लागूऔषध कारोबारमा संलग्न दुई महिलासहित १५ जनालाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सूचना अधिकारी सुजित विष्टले जानकारी दिए ।

    यसैगरी, नदीजन्य पदार्थको नियमविपरीत उत्खनन तथा ओसारपसारमा प्रयोग भएका २६ वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ । ती सवारीसाधनबाट ६ लाख ५० हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।

    सूचना अधिकारी विष्टका अनुसार सीमा क्षेत्रमा राजस्व चुहावट नियन्त्रणमा खटिएका सम्बन्धित निकायसँग निरन्तर समन्वय र सहकार्य भइरहेको छ । सीमा क्षेत्रमा निगरानी बढाउँदा अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र राजस्व चुहावट न्यूनीकरणमा सहयोग पुगेको उनले बताए ।

    सशस्त्र प्रहरी उपरीक्षक कर्माचार्यले सीमा सुरक्षा, तस्करी नियन्त्रण तथा नागरिकको सेवा र सुरक्षालाई प्राथमिकतामा राखेर काम भइरहेको बताए ।
    गैरकानुनी गतिविधि नियन्त्रणका लागि मातहतका युनिटलाई आवश्यक निर्देशन दिइएको उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images