images
images
  • पानी र चुदारोबाटै वर्षमा सय ठेकी, परम्परागत सीपबाट ६ लाख आम्दानी

    काठमाडौं – आधुनिक प्रविधि र विद्युत्बाट चल्ने उपकरणको प्रयोग बढिरहेका बेला महालक्ष्मी नगरपालिका–४ मा भने परम्परागत प्रविधिबाट ठेकी बनाउने सीप अझै जीवित छ । स्थानीय दीर्घबहादुर पौडेल पानी र चुदारोको प्रयोग गरेर वर्षमा करिब १०० वटा ठेकी बनाउँदै आएका छन् ।

    खेतीपातीको काम कम हुने समयमा ठेकी बनाउने पौडेलले सानोदेखि ३८ कुरुवा क्षमतासम्मका ठेकी बनाउँछन् । ठेकीसँगै उनले तोङ्वा, खाने भाँडो र हर्पेसमेत बनाउने गरेका छन् ।

    परम्परागत विधिबाट बनाइएको ठेकी प्रतिकुरुवा ३०० रुपैयाँमा बिक्री हुने गरेको पौडेलले बताए । दुई कुरुवा अट्ने सानो ठेकी ६०० रुपैयाँमा बिक्री हुन्छ भने ३८ कुरुवा क्षमताको ठेकीको मूल्य करिब ११ हजार ४०० रुपैयाँ पर्छ । यसबाट उनले वर्षमा करिब ६ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।

    पौडेलका अनुसार विद्युत्बाट बनाइने ठेकीको तुलनामा परम्परागत विधिबाट बनाइएको ठेकी प्रतिकुरुवा करिब १०० रुपैयाँ सस्तो पर्छ । त्यसैले बजारमा चुदारोको प्रयोगबाट बनाइएका ठेकीको माग अझै रहेको उनी बताउँछन् ।

    पाँच मिटर माथिबाट खसालिन्छ पानी

    परम्परागत तरिकाले ठेकी बनाउने प्रक्रिया मेहनतपूर्ण छ । नजिकैको खोलाबाट ल्याइएको पानी करिब पाँच मिटर माथिबाट खसालेर साँचो घुमाइन्छ । घुमिरहेको साँचोमा काठ राखेर चुदारोको सहायताले काँचो काठलाई विस्तारै आवश्यक आकार दिइन्छ ।

    ठेकी बनाउन दार र कटहरको काठ उपयुक्त मानिन्छ । यस्ता काठबाट बनाइएको ठेकीमा दूध जमाउँदा दही र मोही स्वादिलो हुने स्थानीय मान्यता छ ।

    तर काठ र चुदारोको अभावका कारण परम्परागत ठेकी निर्माणको सीप हराउँदै जाने चिन्ता बढेको छ ।

    महालक्ष्मी–४ का वडाध्यक्ष शुक्रराज बूढाथोकीका अनुसार गाउँमा विद्युत् पुगे पनि ठेकी निर्माणमा पुरानै प्रविधिको प्रयोग भइरहेको छ । पानी र चुदारोबाट ठेकीसँगै कुटानी–पिसानीको मिलसमेत सञ्चालनमा रहेको उनले बताए ।

    गाउँमा विद्युत्बाट चल्ने ठेकी बनाउने मेसिन ल्याइए पनि दीर्घकालीन रूपमा सञ्चालन हुन नसकेको बूढाथोकीले बताए । उनका अनुसार पानी र चुदारोबाट सञ्चालन हुने प्रविधि सस्तो मात्र नभई वातावरणमैत्री र दिगोसमेत छ ।

    परम्परागत ठेकी निर्माणले स्थानीय सीप, रोजगारी र सांस्कृतिक पहिचानलाई जोगाउन योगदान पुर्‍याएको छ । स्थानीय तहले यस्ता सीपलाई आधुनिक प्रविधिसँग जोड्दै संरक्षण र प्रवर्द्धन गर्ने काम अघि बढाइरहेको बूढाथोकीले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images