काठमाडौं– रूसी क्षेप्यास्त्र र ड्रोनले मंगलबार रातिदेखि बुधबारसम्म किएभसहित युक्रेनका दर्जनौँ क्षेत्रमा भीषण आक्रमण गरेका छन् ।
युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणमा चार बालबालिकासहित कम्तीमा २१ सर्वसाधारणको मृत्यु भएको छ भने करिब ६० जना घाइते भएका छन् ।
युक्रेनले रूसी आक्रमणको पूर्वानुमान गरेको थियो ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार नै युक्रेनी गुप्तचर निकायले रूसले ठूलो आक्रमणको तयारी गरिरहेको निष्कर्ष निकालेको बताएका थिए ।
त्यसका बाबजुद युक्रेनले आक्रमणलाई पूर्णरूपमा रोक्न सकेन ।
पछिल्लो आक्रमणले रुसी सेनाले प्रयोग गरिरहेका ब्यालिस्टिक क्षेप्यास्त्र र नयाँ पुस्ताका जेट–सञ्चालित ड्रोनको सामना गर्न युक्रेनले भोगिरहेको कठिनाइलाई उजागर गरेको छ ।
अमेरिकी निर्मित ‘प्याट्रियट’ हवाई प्रतिरक्षा प्रणालीका लागि आवश्यक इन्टरसेप्टरको अभावका कारण युक्रेनलाई रुसी ब्यालिस्टिक क्षेप्यास्त्र रोक्न चुनौती भइरहेको छ ।
युक्रेनले उच्च उचाइमा उड्ने रूसी जेट–संचालित ड्रोनलाई रोक्न सक्ने नयाँ पुस्ताका इन्टरसेप्टर विकास गर्ने प्रयास पनि तीव्र बनाएको छ ।
रूसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेको साढे चार वर्षभन्दा बढी समय बितिसकेको छ ।
युद्धभूमिमा दुवै पक्षबीच गतिरोध कायम रहे पनि लामो दूरीका क्षेप्यास्त्र र ड्रोनमार्फत हुने हवाई आक्रमण तीव्र बनेको छ ।
निरन्तरका आक्रमणले रुसलाई समेत क्षति पु¥याइरहे पनि तुलनात्मक रूपमा सानो युक्रेनका लागि यसको मानवीय र भौतिक असर गम्भीर बनेको छ ।
अमेरिकाको नेतृत्वमा भइरहेको शान्ति प्रयासबाट तत्काल युद्धविराम हुने सम्भावना भने अझै अनिश्चित छ ।
दुवै पक्षबीच तल्लो तहमा प्राविधिक वार्ता अघि बढाउने सम्भावनाबारे छलफल भइरहे पनि ठोस प्रगति हुन सकेको छैन ।
पश्चिमी विश्लेषकका अनुसार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य अभियान जारी राख्दै युक्रेनमाथि दबाब बढाउने रणनीति अपनाएका छन् ।
पुटिनले युक्रेनी पक्ष अन्ततः दबाबमा झुक्ने र किएभका पश्चिमी सहयोगीको समर्थन लामो समयसम्म कायम नरहने अपेक्षा गरेको उनीहरूको विश्लेषण छ ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले रुसी आक्रमणको आलोचना गर्दै सामाजिक सञ्जाल ‘एक्स’मा रूसले ‘जानाजानी आतंक रणनीति’ अपनाइरहेको बताए ।
उनका अनुसार शान्तिपूर्ण जीवन बिताउन चाहने युक्रेनी नागरिकको दैनिक जीवनलाई असम्भव बनाउने प्रयास भइरहेको छ ।


विश्व खबर 



















