images
images
  • ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

    काठमाडौं– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति लिएका छन् ।

    पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ९१ व्टा टोलीका ७८८ जना आरोहीले अनुमति लिएका हुन् ।

    विभागका सूचना अधिकारी सुरज घिमिरेले ३१ हिमाल आरोहणका लागि ५८२ पुरुष र २०६ महिलाले आरोहण अनुमति लिएको जानकारी दिए ।

    आरोहण अनुमति प्रदान गरेबापत विभागले आरोहीबाट रु २४ करोड ७२ लाख सात हजार ६०१ रोयल्टी संकलन गरेको छ ।

    आरोहण अनुमति प्रदान गरेका हिमालमध्ये सबैभन्दा धेरै मनास्लु (८,१६३ मिटर) रहेको छ ।

    मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५०० जना आरोहीले अनुमति लिएका छन् ।

    उनीहरूबाट विभागले रु २२ करोड ५८ लाख ५७ हजार १८९ रोयल्टी संकलन गरेको छ ।

    विभागका अनुसार धौलागिरि–१ आरोहणका लागि पाँच टोलीका ३६ जनाले आरोहण अनुमति लिएका छन् ।

    उनीहरूबाट विभागले ८२ लाख ४२ हजार ५० रोयल्टी संकलन गरेको छ ।

    यस्तै, हिम्लुङ हिमालका लागि तीन टोलीका ३४ आरोहीले अनुमति लिएका छन् । उनीहरूबाट विभागले रु २० लाख ८७ हजार ८०० रोयल्टी संकलन गरेको हो ।

    यस्तै, आमादब्लम हिमाल आरोहणका लागि दुई टोलीका १९ जनाले आरोहण अनुमति लिएका छन् ।

    उनीहरूबाट विभागले रु २९ लाख १२ हजार राजश्व संकलन गरेको छ ।

    यसैगरी, पुथा हिउँचुली, डांगा हिउँचुली, बरुणत्से हिमाल, मकालु, गंगापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ र पेरीलगायतका हिमालका लागि अनुमति प्रदान गरिएको विभागले जनाएको छ ।

    उक्त हिमाल आरोहण गर्नका लागि ७० देशका ७८८ आरोहीले आरोहण अनुमति लिएका छन् ।

    आरोहण अनुमति लिनेमा सबैभन्दा धेरै चीनका ११८ जना रहेका छन् ।

    यसबाहेक रसियाका ६५, फ्रान्सका ६०, अमेरिकाका ५२, बेलायतका ४५, पोल्याण्डका २५, नेपालका २३, स्वीजरल्याण्डका १६, स्पेनका १६, भारतका १८, इटलीका २३, जापानका २५ जनाले आरोहण अनुमति लिएका छन् ।

    विभागले उक्त हिमाल आरोहणका लागि जारी गरेको आरोहण अनुमतिबाट १६ लाख २७ हजार ६५९ अमेरिकी डलर अर्थात् रु २४ करोड ७२ लाख सात हजार ६०१ नेपाली रुपैयाँ रोयल्टी संकलन गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images