images
images
  • बजार घट्दा बैंकिङ समूहमा सुधार, नेप्सेभन्दा बलियो देखिँदै वाणिज्य बैंक सूचक

    काठमाडौं – साताको कारोबारको मध्य दिन बुधबार सेयर बजारका अधिकांश समूहगत सूचक घट्दा वाणिज्य बैंक सूचक भने बढेको छ । नेप्से परिसूचक ६ अंकले घटेर २ हजार ५७२ विन्दुमा झर्दा बैंकिङ समूह १.७३ अंकले बढेर १ हजार ४९५ विन्दुमा पुगेको हो ।

    एक दिनको कारोबारलाई मात्रै आधार मान्दा नेप्से र बैंकिङ समूहको चाल फरक देखिनु सामान्य भए पनि प्राविधिक विश्लेषणका विभिन्न सूचकले पछिल्लो समय यी दुईको प्रवृत्तिमा फरक अवस्था देखाएका छन् । समग्र सेयर बजार कमजोर प्रवृत्तिमा रहँदा वाणिज्य बैंक समूह तुलनात्मक रूपमा बलियो देखिएको छ ।

    यसको एउटा आधार मुभिङ एभरेजमा देखिएको क्रसओभर हो । ५० दिने र २०० दिने मुभिङ एभरेजमध्ये ५० दिने रेखाले २०० दिनेलाई तलबाट माथि काट्दा ‘गोल्डेन क्रसओभर’ र माथिबाट तल काट्दा ‘डेथ क्रसओभर’ भएको मानिन्छ ।

    डेथ क्रसओभरलाई सामान्यतया बजारमा बियरिस प्रवृत्ति बलियो बन्दै गएको संकेतका रूपमा हेरिन्छ भने गोल्डेन क्रसओभरले बुलिस प्रवृत्तिको संकेत दिन्छ ।

    हाल नेप्से परिसूचकमा २०० दिने मुभिङ एभरेज ५० दिनेको भन्दा माथि छ । यसको विपरीत वाणिज्य बैंक समूहमा ५० दिने मुभिङ एभरेज २०० दिनेको भन्दा माथि रहेको छ । बैंकिङ समूहको सूचक दुवै मुभिङ एभरेजभन्दा माथि रहनुले पछिल्लो समय यो समूह समग्र बजारको तुलनामा बलियो रहेको संकेत गरेको छ ।

    वाणिज्य बैंक समूह २०८२ फागुनमा करिब १ हजार ३५० विन्दुबाट उकालो लागेपछि केही समयमै गोल्डेन क्रसओभर बनेको थियो । त्यसयता समूह तुलनात्मक रूपमा बुलिस प्रवृत्तिमा रहेको छ । समूहको कारोबार रकममा समेत वृद्धि देखिएको छ ।

    हाल भने बैंकिङ समूहले १ हजार ५०० विन्दु आसपासको प्रतिरोध परीक्षण गरिरहेको छ । केही समयअघि समूह १ हजार ५६० विन्दु आसपास पुगेको थियो ।

    यता नेप्से परिसूचक पनि २०८२ फागुनपछि बढेको थियो र त्यसक्रममा गोल्डेन क्रसओभर बनेको थियो । तर गत साउनमा प्रवृत्ति परिवर्तन भएसँगै नेप्सेमा डेथ क्रसओभर देखिएको छ ।

    यसले अहिले वाणिज्य बैंक समूह समग्र सेयर बजारभन्दा तुलनात्मक रूपमा बलियो अवस्थामा रहेको देखाउँछ । यद्यपि, मुभिङ एभरेज विगतको मूल्य गतिविधिमा आधारित हुने भएकाले यसले बजार परिवर्तनको संकेत केही ढिलो दिने गर्छ । त्यसैले बैंकिङ समूहको आगामी दिशा निर्धारण गर्न यसलाई मात्रै आधार बनाउन नहुने प्राविधिक विश्लेषकहरूको मान्यता छ ।

    वाणिज्य बैंकका धेरै कम्पनीले लाभांश वितरण गरिसकेकाले आगामी दिनमा समग्र बजारको उतारचढावले बैंकिङ समूहलाई पनि प्रभावित गर्न सक्ने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images