images
images
  • चाडपर्वमा तोकिएभन्दा बढी भाडा नलिन यातायात व्यवसायी महासंघको आग्रह

    काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वका बेला सरकारले तोकेकोभन्दा बढी सवारी भाडा नलिन यातायात व्यवसायी तथा सम्बद्ध पक्षलाई आग्रह गरेको छ । महासंघका महासचिव डेकनाथ गौतमले बढी भाडा लिने सवारीसाधनमाथि कारबाही हुने बताए ।

    सरकारले दसैँका लागि असोज २३ गतेदेखि देशभर अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, मजदुर संघ–संगठन, प्रहरी प्रधान कार्यालय तथा उपत्यका ट्राफिक प्रहरी कार्यालयबीचको समन्वयमा अग्रिम टिकट बुकिङ खुला गर्न लागिएको हो ।

    महासंघले सातै प्रदेश, जिल्ला समिति, सदस्य संघ–संस्था तथा काठमाडौंको गोंगबु बसपार्कमा रहेका शाखा प्रमुख र कर्मचारीलाई यात्रु सेवा व्यवस्थित गर्न निर्देशन दिएको छ । अग्रिम टिकट बुकिङ काउन्टरमा खटिने कर्मचारीले तोकिएको पोसाक र परिचयपत्र अनिवार्य लगाउनुपर्नेछ । यात्रुसँग नम्र व्यवहार गर्दै सहज रूपमा टिकट उपलब्ध गराउनसमेत निर्देशन दिइएको छ ।

    दसैँको भीड व्यवस्थापन गर्न असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ । खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधन भने सञ्चालन गर्न पाइनेछ ।

    यात्रुवाहक सवारीसाधनका लागि घटस्थापनादेखि कात्तिक १० गतेसम्म देशभर लामो तथा मध्यम रुट परमिट खुला गरिएको छ । सडकको विशेष प्रकृतिका कारण निश्चित आकार तथा प्रकारका सार्वजनिक सवारीसाधन सञ्चालनमा लगाइएको प्रतिबन्ध भने कायमै रहने महासंघले जनाएको छ ।

    काठमाडौं उपत्यकाका प्रमुख नाकामा स्थापना गरिएका यात्रु सहायता कक्षको अनुगमन तथा सहजीकरणका लागि यातायात व्यवस्था विभागले फोकल पर्सनसहितको टोली परिचालन गर्नेछ । महासंघले गोंगबु बसपार्क, कलंकी, कोटेश्वर, गौशाला र चाबहिलमा जिम्मेवारी तोकेको छ ।

    यसैगरी, चाडपर्वका बेला यात्रुवाहक सवारीसाधनको फिटनेस परीक्षणलाई प्राथमिकता दिइएको छ । यातायात व्यवस्था विभागको सवारी परीक्षण कार्यालय टेकुबाट प्राविधिक कर्मचारी खटाएर गोंगबु बसपार्कमै सवारीसाधनको निःशुल्क फिटनेस परीक्षण गर्ने व्यवस्था मिलाइने भएको छ ।

    महासंघले यात्रुको सहज, सुरक्षित र व्यवस्थित आवागमनका लागि तोकिएको भाडा, टिकट बुकिङ तथा सवारीसाधनको प्राविधिक अवस्थासम्बन्धी नियम पालना गर्न व्यवसायीलाई आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images