काठमाडौं – चितवनको माडी नगरपालिकाले आगामी मङ्सिर १ गतेदेखि ‘मासु जाँच ऐन, २०५५’ पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको छ । नगरपालिकाले सरोकारवालासँग छलफलपछि ऐन लागू गर्ने मिति तय गरेको हो ।
ऐन कार्यान्वयनसँगै नगरभित्रका बधस्थलको नक्साङ्कन गरिनेछ भने तोकिएको मापदण्ड पूरा गरेका बधस्थल अनिवार्य दर्ता गरेर मात्रै सञ्चालन गर्नुपर्नेछ । नगरपालिकाले स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु बिक्रीवितरण सुनिश्चित गर्न संयुक्त अनुगमन टोलीसमेत गठन गर्ने जनाएको छ ।
नगरप्रमुख ताराकुमारी काजी महतोले बजारमा मासुको गुणस्तर र सरसफाइ कायम गर्न नियमित अनुगमन आवश्यक रहेको बताइन् । उनका अनुसार बधस्थलदेखि मासु बिक्रीस्थलसम्मको व्यवस्थापनलाई व्यवस्थित बनाइनेछ ।
पशु सेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार ऐन कार्यान्वयनपछि स्वच्छ र स्वस्थ मासु मात्रै बिक्री गर्न पाइनेछ । छालाविहीन मासु बिक्री गर्नुपर्ने र बिरामी वा आफैँ मरेका पशुको बध गरी मासु बिक्री गर्न नपाइने व्यवस्था लागू हुनेछ ।
बधस्थल र मासु बिक्री कक्ष छुट्टाछुट्टै हुनुपर्ने तथा मासु भण्डारण गर्ने स्थानको तापक्रम अर्थात् ‘कोल्ड चेन’ व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने न्यौपानेले बताए ।
हाल चितवनका विभिन्न स्थानमा बधस्थल व्यवस्थित नहुँदा सरसफाइ तथा मासुको गुणस्तरमा प्रश्न उठ्दै आएको छ । माडीले ऐन कार्यान्वयनको तयारी अघि बढाएपछि जिल्लाका अन्य स्थानीय तहलाई समेत मासु जाँच ऐन लागू गर्न दबाब बढेको छ ।


विश्व खबर 



















