काठमाडौं – मनसुनजन्य विपद्पछि बाढीपहिरोका कारण अवरुद्ध चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडक मर्मतको काम तीव्र पारिएको छ । सडक मर्मतका क्रममा प्रमुख चुनौतीका रूपमा रहेको म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्थित कुनौटा भिरमा बुधबार मार्ग छिचोलिएको छ ।
असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले कुनौटामा करिब २५० मिटर सडक कटान गरी बगाएपछि उक्त खण्डमा पैदल यात्रासमेत जोखिमपूर्ण बनेको थियो । बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माका अनुसार चार दिनको निरन्तर प्रयासपछि कुनौटामा दुईतर्फबाट सडक जोडिएको हो ।
“कुनौटामा सडक बगाएपछि पैदलयात्रा गर्न पनि वैकल्पिक बाटोबाट जोखिम मोलेर हिँड्नुपर्ने अवस्था थियो,” शर्माले भने, “दुईतर्फबाट जोडिएको सडकमा फिलिङ र लेभल मिलाउने काम भइरहेको छ । सवारीसाधन सञ्चालनयोग्य बनाउन थप एक–दुई दिन लाग्न सक्छ।”
बुधबार कुनौटामा दुवैतर्फबाट छ वटा एक्साभेटर र छ वटा टिप्पर परिचालन गरिएको थियो । माटो फिलिङ, सडक सम्याउने तथा सवारी सञ्चालनयोग्य बनाउने काम भइरहेको आयोजनाले जनाएको छ ।
कालीगण्डकीले सडक पुलको पहुँचमार्ग बगाएको पोखरेबगरबाहेक कुनौटासहित अन्य अधिकांश स्थानमा प्रारम्भिक मर्मतको काम सम्पन्न भएको आयोजना प्रमुख शर्माले बताए । पोखरेबगर र कुनौटाबीचका रातोपानी, धीरच्याङ, भीरकाटे, महभीर, तिप्ल्याङ र बेगखोलालगायत स्थानमा पहिरो पन्छाउने, नयाँ ट्र्याक खोलिएका ठाउँमा ग्रेड र घुम्ती मिलाउने, सडक फराकिलो पार्ने तथा खाल्डाखुल्डी पुर्ने काम जारी छ ।
पर्वतको कुश्मा नगरपालिका–१ पाङदेखि म्याग्दीको बेनी हुँदै चीनको सीमावर्ती कोरला नाकासम्म जोडिने २०२ किलोमिटर लामो सडक असोज दोस्रो साताको वर्षापछि आएको बाढीपहिरोका कारण ५५ स्थानमा अवरुद्ध भएको थियो । असोज ८ देखि ११ गतेसम्मको लगातार वर्षापछि कालीगण्डकीमा आएको बाढीले मात्रै १० स्थानमा सडक कटान गरी बगाएको तथा भत्काएको थियो ।
हाल मालढुङ्गादेखि कुनौटा र कोरलादेखि पोखरेबगर सडक पुलसम्म ठूला सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी सडक मर्मत गरिएको छ । पोखरेबगर पुलमा भने ग्यावियन पर्खाल निर्माण गरी पुललाई सडकसँग जोड्ने संरचना तयार पार्ने काम भइरहेको छ ।
आयोजनाका प्राविधिक विनोद पौडेलका अनुसार आगामी सोमबारसम्म सवारीसाधन सञ्चालन गर्ने लक्ष्यसहित उपकरण र मजदुर परिचालन गरिएको छ ।
यसैबीच रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा कालीगण्डकीले सडक कटान गरेपछि त्यसको विकल्पमा नयाँ मार्ग निर्माण गरिएको छ । सडक खुलाउने काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । नेपाली सेना, स्वयंसेवक तथा ड्रोनको सहयोगमा आवश्यक सामग्री ढुवानी र सापटीमार्फत इन्धन व्यवस्थापन गरिएकाले अहिले काममा इन्धनको समस्या नरहेको बताइएको छ ।
सडक विभाग र निर्माण व्यवसायीका १५ एक्साभेटर, १२ टिपर र १५ लोडरसहितको जनशक्ति परिचालन गरेर सडक मर्मतलाई तीव्रता दिइएको संघीय सडक सुपरीवेक्षण आयोजना पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताए ।
“सडक विभाग र निर्माण कम्पनीले अवरुद्ध सडक खुलाउन सबै ठाउँमा समानान्तर रूपमा काम गरिरहेका छन्,” सुवेदीले भन्नुभयो, “आर्थिक वर्ष २०७३/७४ मा सुरु भएको यस आयोजनामा यसपटकको विपद्ले हालसम्मकै ठूलो क्षति पुर्याएको छ ।”
बाढीपहिरोबाट सडकमा करिब रु. ८० करोडदेखि ९० करोडसम्मको क्षति भएको प्रारम्भिक अनुमान छ। क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि भने करिब रु. ३ अर्ब लाग्ने सडक विभागको प्रारम्भिक आकलन छ ।
रसुवा र तातोपानी नाका बन्द रहेका कारण चीनसँगको व्यापारका लागि कोरला नाका थप महत्वपूर्ण बनेको छ। कोरला नाका जोड्ने सडकलाई यथाशीघ्र सञ्चालनमा ल्याउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए ।
सडक अवरुद्ध हुँदा काठमाडौँलगायत सहरमा चीनबाट आयात गरिएका सामान बोकेका करिब ५०० कन्टेनर गन्तव्यतर्फ जान प्रतीक्षामा छन् । यता मुस्ताङको स्याउ बजार पठाउने समय सुरु भइसकेको छ भने दसैँ–तिहारका लागि भेडाच्याङ्ग्रा बजार झार्ने समय पनि नजिकिँदै छ । पर्यटकीय याम सुरु भएसँगै बेनी–जोमसोम सडक शीघ्र सञ्चालनमा ल्याउन दबाबसमेत बढेको छ ।
कुनौटा भिरमा मार्ग छिचोलिएसँगै सडकको मुख्य अवरोध हटाउने कामले गति लिएको छ। बाँकी स्थानमा मर्मत र संरचना निर्माणलाई समानान्तर रूपमा अघि बढाएर चाँडै यातायात सञ्चालन गर्ने तयारी गरिएको छ।


विश्व खबर 




















