काठमाडौं- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले संसद्को समयावधि कायम रहेकै समय नोभेम्बर २९ मा आगामी आमनिर्वाचन हुने घोषणा गरेका छन्।
सान्चेजले स्थानीय समय बिहान ९ बजे मोनक्लोवा प्यालेसबाट भिडियो वक्तव्यमार्फत यो निर्णय घोषणा गर्दै सोमबार नै संसद् भङ्ग गर्न र चुनावको घोषणा गर्न असाधारण क्याबिनेट बैठक बोलाउने बताएका छन्।
यो निर्णय शुक्रबार संसदले आवास सङ्कट कम गर्न र भाडावालहरूको सुरक्षा बलियो बनाउन ल्याइएका दुई सरकारी अध्यादेश अस्वीकार गरेपछि आएको हो। पिपुल्स पार्टी, भोक्स र कन्जरभेटिभ क्याटालानियाली पार्टी ‘जुन्ट्स पर क्याटालुन्या’ले दुवै अध्यादेशविरुद्ध मतदान गरेका थिए।
यो अस्वीकृतिले सान्चेजको स्पेनी समाजवादी मजदूर पार्टी नेतृत्वको गठबन्धन सरकारको कमजोर संसदीय स्थिति उजागर गरेको छ। यो सरकारले कानुन पारित गर्न साना र क्षेत्रीय दलहरूको समर्थनमा भर पर्दै आएको छ। यसले सन् २०१८ देखि स्पेनको सरकारको नेतृत्व गर्दै आएको छ।
स्पेनको ३५० सिटको ‘कङ्ग्रेस अफ डिपुटीज’मा सान्चेजको दलको १२१ सिट रहेको छ। यसको गठबन्धन साझेदार, वामपन्थी गठबन्धन सुमारसँग २६ सिट छ। त्यसैले गठबन्धनलाई बास्क राष्ट्रवादी पार्टी र क्याटालान रिपब्लिकन लेफ्टलगायत अन्य दलहरूको समर्थन चाहिन्छ।
सान्चेजले आफ्नो सरकारको एजेन्डा अगाडि बढाउन नवीन सार्वजनिक समर्थन र व्यापक प्रगतिशील बहुमत खोजिरहेको बताउँदै नयाँ निर्वाचनको घोषणा गरेको बताइएको छ। उनले आफ्नो सरकारले गल्तीहरू गरेको र सबै उद्देश्य हासिल गर्न नसकेको पनि स्वीकार गरेका छन्।
यो घोषणा स्पेनको आवास सङ्कटविरुद्ध व्यापक प्रदर्शनहरूबीच आएको हो। सप्ताहन्तमा म्याड्रिड र अन्य शहरहरूमा प्रदर्शनकारीहरूले यो सङ्कट टार्न सरकारको आवश्यक पहलको माग गर्दै प्रदर्शन गरेका थिए।


विश्व खबर 



















