काठमाडौं– सेप्टेम्बरको मध्यदेखि देशभर आएको बाढीबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुगेपछि थाइल्यान्डका अधिकारीले थप वर्षा र आकस्मिक बाढीको जोखिमबारे चेतावनी दिएका छन्।
थाइल्यान्डको मौसम विज्ञान विभागका अनुसार सोमबारदेखि बुधबारसम्म देशको माथिल्लो भेगका अधिकांश क्षेत्रमा चट्याङसहितको वर्षा र भारी वर्षा हुने सम्भावना छ। विशेषगरी होचा भू-भागमा आकस्मिक बाढीको जोखिम बढ्ने औंल्याइएको छ।
विभागका अनुसार सप्ताहन्तमा राजधानी बैंककसहित मध्य, पूर्वी र दक्षिणी क्षेत्रका केही भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ।
गत साता लगातारको मुसलधारे वर्षापछि बैंककका धेरै क्षेत्र डुबानमा परेका थिए। बाढीका कारण हजारौँ मानिस विस्थापित हुनुका साथै जनजीवनमा गम्भीर असर परेको थियो। केही होचा क्षेत्रमा अझै पानी जमेको भए पनि सहरको अवस्था सुधार हुँदै गएको अधिकारीले जनाएका छन्।
बाढीको थप जोखिम कम गर्न बैंककका अधिकारीले विभिन्न उपाय अपनाइरहेका छन्।
विपद् रोकथाम तथा न्यूनीकरण विभागका अनुसार सोमबारसम्म देशभर ३५ लाखभन्दा बढी मानिस बाढीबाट प्रभावित भएका छन्। बाढीमा मृत्यु हुने ३१ मध्ये चार जना बैंककका र बाँकी सातवटा अन्य प्रान्तका रहेको विभागले जनाएको छ।
बाढीबाट भएको व्यापक क्षतिपछि थाई सरकारले गत साता पुनर्लाभका लागि चार दशमलव एक अर्ब भाट (करिब १२ करोड २० लाख अमेरिकी डलर) भन्दा बढीको आपत्कालीन कोष स्वीकृत गरेको थियो।


विश्व खबर 



















