images
images
  • महाधिवेशनबाट भाग्दै नेकपा: चार दशक पुग्न लाग्दा पनि नेतृत्व छोड्न अनिच्छुक प्रचण्ड

    महाधिवेशन अनिश्चित बनेसँगै प्रचण्डको नेतृत्व हस्तान्तरण गर्ने घोषणा एवम् नियतप्रति नै प्रश्न उठ्न थालेको छ।

    काठमाडौं । करिब एक वर्षदेखि तदर्थ नेतृत्वमा चलिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फेरि महाधिवेशनबाट पछि हटेको छ। नेतृत्व चयन र संगठन पुनर्संरचनाको निर्णायक चरणमा पुग्नुपर्ने बेला पार्टीले आगामी मङ्सिरका लागि तय गरेको एकता महाधिवेशन अनिश्चितकालका लागि धकेलेको हो।

    भोटेकोशी बाढी, चाडपर्वलगायतका कारण देखाउँदै महाधिवेशन स्थगित गर्ने निर्णय गरेको नेकपाले अब नयाँ मिति तोक्ने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ। तर महाधिवेशनको मिति नै अनिश्चित बनाएपछि पार्टीभित्र भने नेतृत्व हस्तान्तरणको प्रश्न थप पेचिलो बनेको छ।

    महाधिवेशन छलेको यो पहिलोपटक भने होइन। पटक-पटक महाधिवेशनको कार्यतालिका बनाउने र फेरि विभिन्न कारण देखाउँदै स्थगित गर्ने प्रवृत्तिले नेकपाको संगठनात्मक संक्रमण अझ लम्बिएको छ।

    जेन-जी आन्दोलनपछि २०८२ असोजमा तत्कालीन माओवादी केन्द्रको केन्द्रीय समिति भंग गरी महाधिवेशन आयोजक समिति गठन गरिएको थियो। त्यसबेला फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअघि नै विशेष महाधिवेशन गर्ने घोषणा गरिएको थियो। तर, कात्तिकमा तत्कालीन माओवादी र एकीकृत समाजवादीसहितका दलबीच एकता भएर नेकपा बनेपछि त्यो विशेष महाधिवेशन गर्नै परेन। त्यसयता नेकपा नियमित महाधिवेशनविहीन अवस्थामा छ।

    तत्कालीन माओवादी र एकीकृत समाजवादीसहित आठ दलबीच १९ कात्तिक २०८२ मा भएको एकता सम्झौताले ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने लक्ष्य राखेको थियो। त्यसअनुसार गत १४ वैशाखमा बसेको केन्द्रीय कार्य संयोजन समितिले मङ्सिर ११ देखि १५ गतेसम्म महाधिवेशन गर्ने निर्णय गर्‍यो।

    त्यसका लागि संगठन समायोजनदेखि वडा, पालिका, जिल्ला हुँदै प्रदेश अधिवेशनसम्मको विस्तृत कार्यतालिका बनाइएको थियो। तर तीमध्ये अधिकांश काम निर्धारित समयमा अघि बढ्न सकेनन्। अहिले आएर सम्पूर्ण कार्यतालिका नै स्थगित गरिएको छ।

    नेकपाको महाधिवेशन अनिश्चित भइरहेका बेला अन्य ठूला दल भने संगठनात्मक प्रक्रियामा अघि बढेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेले महाधिवेशन सम्पन्न गरिसकेका छन्। नेपाली कांग्रेस विशेष महाधिवेशन सम्पन्न गरेर अहिले १५औँ महाधिवेशनमा छ।

    यसरी महाधिवेशन सर्नुमा नेतृत्व हस्तान्तरण नै मुख्य कारण बनेको स्रोतले बतायो। संयोजक पुष्पकमल दाहाल पार्टीको प्रमुख भएको चार दशक पुग्न लाग्दा पनि नेतृत्व हस्तान्तरण गर्न तयार देखिँदैनन्। जेन-जी आन्दोलनपछि अध्यक्ष पद छाडेको घोषणा गर्दै आफू संयोजक बनेको जिकिर गरेका दाहालले त्यतिबेला नेतृत्व परिवर्तन र विशेष महाधिवेशनको आवश्यकता औंल्याएका थिए। तर महाधिवेशन अनिश्चित बनेसँगै प्रचण्डको नेतृत्व हस्तान्तरण गर्ने घोषणा एवम् नियतप्रति नै प्रश्न उठ्न थालेको छ।

    नेकपाका केही नेताका अनुसार दाहाल तत्काल नेतृत्व हस्तान्तरण गर्न इच्छुक छैनन्। दाहाल स्वयंले पनि नेतृत्व हस्तान्तरणको समय अझै नआएको संकेत गर्दै आएका छन्। उनले आफू निकटका नेताहरूसँग एमाले अध्यक्ष ओलीको उदाहरण दिँदै आफू अझै नेतृत्वमा रहने बताउन थालेका छन्।

    प्रतिनिधिसभा निर्वाचनमा पार्टीको आकार खुम्चिएपछि भने नेकपाभित्र तत्काल महाधिवेशन गर्नुपर्ने आवाज झन् बलियो बन्दै गएको छ। गत फागुन २१ को निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ नौ सिट मात्र जित्यो। कमजोर चुनावी परिणामपछि संगठन सुधार, नेतृत्व पुनर्गठन र जनतासँगको सम्बन्ध पुनःस्थापित गर्न महाधिवेशन अपरिहार्य रहेको नेताहरूको तर्क छ। प्रचण्डलगायत शीर्ष नेताहरू अहिले पनि नसुध्रिए पार्टीको आकार झन्झन् खुम्चिँदै जानेतर्फ समेत उनीहरूले चिन्ता व्यक्त गरेका छन्।

    त्यसमाथि पार्टीको संगठनात्मक संरचना नै अझै व्यवस्थित हुन सकेको छैन। एकता अभियानका क्रममा केन्द्रीय समिति विस्तार हुँदै २ हजार ५ सय सदस्यीय बनिसकेको छ। जबकि विधानमा ६०१ सदस्यीय केन्द्रीय कार्यसमितिको व्यवस्था गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images