काठमाडौं– गार्मेन्ट उद्योगमा २० केभी क्षमताको विद्युत् लाइन जडान गरिदिने भन्दै ५० हजार रुपैयाँ घुस लिएको आरोपमा नेपाल विद्युत् प्राधिकरण इटहरी वितरण केन्द्रका इन्जिनियर कृष्णनारायण यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार यादवले विद्युत् लाइन जडानमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए । सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले यादवलाई ५० हजार रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा यादवले आफ्नो जिम्मेवारीअनुसार गर्नुपर्ने विद्युत् लाइन जडानको काममा बदनियतपूर्ण ढिलाइ गरी सेवाग्राहीलाई दुःख–हैरानी दिई घुस दिन बाध्य बनाएको देखिएको अख्तियारले जनाएको छ।
आयोगले यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अन्तर्गतको कसुरमा ५० हजार रुपैयाँ बिगो कायम गरी सोही दफाको देहाय (क) बमोजिम कैद तथा बिगोबमोजिम जरिमाना मागदाबी गरेको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार यादवविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।


विश्व खबर 



















