images
images
  • मलेसियाबाट फर्काइए करिब १० हजार म्यान्माली

    काठमाडौं । मलेसियाबाट यस वर्ष नौ हजार ५१७ जना म्यान्माली नागरिक स्वदेश फर्किएको म्यान्माको सरकारी सञ्चारमाध्यमले जनाएको छ। यो सङ्ख्यामा विमान र जहाजमार्फत फर्काइएका नागरिक समावेश छन्। मलेसियाबाट करिब एक हजार ५०० नागरिक बोकेको जहाज याङ्गुनमा फर्किएको एक दिनपछि सोमबार यस्तो विवरण सार्वजनिक गरिएको हो।

    म्यान्माको सरकारी अखबार ‘द ग्लोबल न्यू लाइट’का अनुसार यस वर्ष जनवरीदेखि अगस्टसम्म आठ हजार ४१ जना नागरिक हवाई मार्गबाट स्वदेश फर्किएका छन्। त्यसबाहेक आइतबार एक हजार ४७६ जना म्यान्माली नागरिक बोकेको जहाज याङ्गुनको दक्षिणमा रहेको थानलिनमा पुगेको थियो।

    मलेसियामा आप्रवासीविरोधी भावना बढिरहेका बेला क्वालालम्पुरले म्यान्मा फर्काउन सहमत भएका पाँच हजार नागरिकमध्ये पहिलो समूहका रूपमा आइतबार एक हजार ४७६ जना स्वदेश फर्किएका हुन्। जहाजबाट फर्काइएका उनीहरूलाई याङ्गुन बाहिर रहेको एक मठमा बनाइएको अस्थायी केन्द्रमा राखिएको र परिचय तथा स्वास्थ्य परीक्षण गरिएको एएफपीका पत्रकारले बताएका छन्।

    मलेसियाले हिरासत केन्द्रमा रहेका नागरिकलाई स्वेच्छिक रूपमा स्वदेश फर्कन सहमत गराइएको बताउँदै आएको छ। म्यान्माले उनीहरूले आप्रवासनसम्बन्धी अपराधमा सजाय भोगेपछि ‘कठिनाइको सामना’ गरिरहेको जनाएको छ। तर अधिकारवादी समूहहरूले हिरासत केन्द्रमा गम्भीर अवस्था रहेको बताउँदै आएका छन्।

    संयुक्त राष्ट्रसङ्घले युद्धग्रस्त म्यान्मामा सुरक्षित रूपमा फर्कने सुनिश्चितता नभएको भन्दै मलेसियाले अपारदर्शी प्रक्रियामार्फत आप्रवासीलाई स्वदेश फर्काउन गरिरहेको दबाबको आलोचना गरेको छ। संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी निकायले फर्कने निर्णय वास्तवमै स्वतन्त्र र पूर्ण जानकारीका आधारमा गरिएको हो भन्ने पुष्टि गर्न आफ्ना कर्मचारीलाई अनुमति नदिइएको जनाएको छ।

    अधिकार पर्यवेक्षकहरूले मलेसियाबाट फर्काइएका नागरिकमा रोहिङ्ग्या समुदायका सदस्यसमेत पर्न सक्ने चिन्ता व्यक्त गरेका छन्। रोहिङ्ग्या समुदायले म्यान्मामा लामो समयदेखि हिंसात्मक उत्पीडनको सामना गर्दै आएको अधिकार समूहहरूको भनाइ छ। यद्यपि मलेसियाले फर्काइएका व्यक्तिहरूको जातीय पहिचानबारे कुनै विवरण सार्वजनिक गरेको छैन।

    सन् २०२१ मा म्यान्मामा सैन्य शासनविरुद्धको द्वन्द्व सुरु भएयता एक लाखभन्दा बढी मानिस मारिएको द्वन्द्व निगरानी संस्था एसीएलईडीले जनाएको छ। सन् २०१७ मा म्यान्माको सैन्य दमनबाट बच्न ठूलो सङ्ख्यामा रोहिङ्ग्या मलेसिया पलायन भएका थिए। अधिकार समूहहरूले उक्त दमनलाई नरसंहारका रूपमा वर्णन गर्दै आएका छन् । तर म्यान्माको सेनाले त्यस्ता आरोप अस्वीकार गर्दै आएको छ।

    संयुक्त राष्ट्रसङ्घका अनुसार मलेसियामा रहेका करिब एक लाख ९० हजार म्यान्माली शरणार्थी तथा शरण खोज्ने व्यक्तिमध्ये दुईतिहाइ रोहिङ्ग्या समुदायका छन्। पछिल्लो समय मलेसियामा बढेको आप्रवासीविरोधी भावनाको केन्द्रमा पनि उनीहरू परेका छन्।

    तस्विर: एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images