images
images
  • काठमाडौंका यी क्षेत्रमा १० दिनसम्म दैनिक पाँच घण्टा बिजुली काटिने

    काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा आजदेखि १० दिनसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति कटौती गर्ने भएको छ ।

    वितरण लाइन भूमिगत गर्ने तथा आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि आवश्यक काम गर्नुपर्ने भएकाले विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका अनुसार कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विभिन्न १० वटा फिडरमा काम हुने भएकाले असोज १५ देखि २६ गतेसम्म तोकिएका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुनेछ । ती क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द गरिनेछ ।

    प्राधिकरणले वितरण प्रणाली सुधार तथा भूमिगत गर्ने कामसँगै हिउँदमा बढ्ने विद्युत् मागलाई व्यवस्थापन गर्न आवश्यक तयारीका रूपमा काम अघि बढाइएको जनाएको छ ।

    प्राधिकरणका अनुसार असोज १५ गते कुलेश्वर वितरण केन्द्रअन्तर्गतको सतुंगल फिडरमा काम हुनेछ । त्यस दिन बौथली चोक आसपासका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

    असोज १६ गते मच्छेगाउँ दोभान चोक तथा खुसीचोक आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुनेछ भने १७ गते मूलपानी क्षेत्रमा विद्युत् कटौती गरिनेछ ।

    त्यस्तै, असोज १८ गते गुर्जुधारा क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । असोज २० गते मूलपानी फिडरअन्तर्गत बाबा चोक र मिलन चोक आसपासका क्षेत्रमा विद्युत् आपूर्ति कटौती हुने प्राधिकरणले जनाएको छ ।

    असोज २१ गते बलम्बु तथा खाद्डू खोला क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । असोज २२ गते कोटेश्वर–बालकुमारी क्षेत्रमा विद्युत् कटौती गरिनेछ ।

    यसैगरी असोज २४ गते सिफल क्षेत्रमा, २५ गते सतुंगलको धौलागिरि आवास क्षेत्रमा र २६ गते धोबीखोला क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरिनेछ ।

    प्राधिकरणले तोकिएको समयमा काम सम्पन्न गर्न विद्युत् आपूर्ति बन्द गर्नुपर्ने भएकाले सम्बन्धित क्षेत्रका उपभोक्तालाई आवश्यक तयारी गर्न आग्रह गरेको छ । यद्यपि मौसम प्रतिकूल भए तोकिएको मितिमा विद्युत् कटौती नगरिने प्राधिकरणले स्पष्ट पारेको छ ।

    विद्युत् कटौतीसम्बन्धी काम निर्धारित समयअनुसार सम्पन्न भएमा सम्बन्धित क्षेत्रमा विद्युत् आपूर्ति पुनः सञ्चालन गरिने प्राधिकरणले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images