images
images
  • सिक्किममा भारी वर्षापछि भीषण पहिरो, रिम्बी गाउँमा घर र सरकारी आवास बगे

    काठमाडौं– नेपालको छिमेकी भारतको उत्तर–पूर्वी राज्य सिक्किममा भारी वर्षापछि भीषण पहिरो गएको छ । ग्याल्जिङ जिल्लाको रिम्बी गाउँमा गएको पहिरोले धेरै घर, सरकारी आवास (क्वाटर) तथा अन्य भौतिक संरचनामा क्षति पुर्‍याएको छ ।

    सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले सामाजिक सञ्जाल फेसबुकमार्फत रिम्बीमा गएको पहिरोप्रति दुःख व्यक्त गर्दै अवस्था गम्भीर रहेको बताएका छन् ।

    उनले मानिसहरूको सुरक्षा र हितलाई सरकारको सर्वोच्च प्राथमिकता रहेको उल्लेख गर्दै सम्बन्धित अधिकारीहरूलाई उच्च सतर्कतामा रहन, अवस्थाको निरन्तर निगरानी गर्न तथा स्थानीय बासिन्दाको सुरक्षा सुनिश्चित गर्न आवश्यक सबै कदम चाल्न निर्देशन दिइएको बताएका छन् ।

    मुसलधारे वर्षाका कारण जोखिम बढ्यो

    मुख्यमन्त्री तामाङले भारी वर्षाका क्रममा स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् । उनले अधिकारीहरूले जारी गरेका सूचना तथा सुरक्षा निर्देशन पालना गर्न र कठिन अवस्थामा एक–अर्कालाई सहयोग गर्न अपिल गरेका छन् ।

    उनले रिम्बीका बासिन्दासँग सरकार कठिन समयमा मजबुत रूपमा उभिएको बताउँदै प्रभावित क्षेत्रमा आवश्यक सुरक्षा तथा उद्धार तयारीमा ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिइएको बताएका छन् ।

    मानवीय क्षतिको खबर छैन

    समाचार एजेन्सी एएनआईले सार्वजनिक गरेको भिडियोमा पहिरोका कारण रिम्बी गाउँमा भएको क्षतिको दृश्य देखाइएको छ । पहिरोले घर तथा सरकारी आवाससहितका भौतिक संरचना बगाएको देखिन्छ ।

    हालसम्म उक्त पहिरोमा परी मानवीय क्षति वा हताहती भएको खबर भने नरहेको जनाइएको छ ।

    भारी वर्षा जारी रहेकाले सिक्किमका विभिन्न क्षेत्रमा पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम बढ्न सक्ने भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images