images
images
  • वर्षा हुनासाथ रातभर जाग्राम बस्छन् याङवरकका बासिन्दा

    काठमाडौं– वर्षा सुरु हुनासाथ याङवरक गाउँपालिका–१ का चाम्लिङडाँडा, कोप्चे, बिरुवा र सिस्नेका बासिन्दा रातभर जाग्राम बस्न बाध्य छन् । बाढी र पहिरोले बस्ती नै जोखिममा पारेपछि पानी पर्नासाथ सुरक्षित स्थानतर्फ जानुपर्ने बाध्यताले स्थानीयको रातको निद्रा हराएको हो ।

    गत जेठ ८ गते आएको बाढीपहिरोले यी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो। गाउँका सयौँ स्थानमा पहिरो झर्नुका साथै खोलाखोल्सीमा बाढी आएपछि दर्जनौँ परिवार जोखिममा परेका थिए। विपद्बाट प्रभावित भए पनि अन्यत्र बसाइँ सर्न उपयुक्त ठाउँ र स्रोतसाधन नहुँदा स्थानीय जोखिमकै बीच बस्न बाध्य छन् ।

    बिरुवा टोलका बासिन्दा तथा साविक च्याङथापू गाविसका अध्यक्ष शङ्कर गुरुङको घर आसपासमा धाँजा फाटेको छ ।

    घरसमेत लच्किएको छ भने ढुङ्गामाटोको गारो लगाइएको भुइँतला भत्किएको छ । बिरुवा टोलको पुछारमा रहेको मेवा खोलामा भीषण पहिरो झर्न थालेपछि बस्ती थप जोखिममा परेको उहाँले बताउनुभयो ।

    “पानी पर्दा सबै घरका मानिस डाँडामा गएर सुत्छौँ । तर लच्किएको भाग जति पहिरोले तान्यो भने भागेको ठाउँ पनि सुरक्षित हुँदैन,” गुरुङले भन्नुभयो, “हामी पहिरोभित्र बसेका छौँ ।”

    उहाँका अनुसार विसं २०८० देखि नै बिरुवा क्षेत्रमा पहिरो क्रमशः बढिरहेको छ। विगतमा खेतीपाती गरिएका ठाउँसमेत अहिले धाँजा फाटेर बस्न नसक्ने अवस्थामा पुगेका छन् ।

    सुरक्षित ठाउँमा जान पनि समस्या

    पहिरोको जोखिममा रहेका स्थानीयका लागि सुरक्षित स्थानमा स्थानान्तरण हुनु पनि सहज छैन। घर बनाउन उपयुक्त जग्गा नहुँदा जोखिमयुक्त स्थानमै बस्नुपर्ने अवस्था रहेको गुरुङले बताउनुभयो ।

    चाम्लिङडाँडाका रविन राई र रामकुमार राईको परिवार पनि यस्तै जोखिममा छन् । ठाडे खोलामा आएको बाढी र मेवा खोलाबाट बढ्दै गएको पहिरोका कारण रविन राईसहित आधा दर्जन घर उच्च जोखिममा परेका छन् ।

    “पानी परेपछि डाँडातिर भाग्नुपर्ने अवस्था छ । रातको समयमा पानी पर्‍यो भने भाग्न पनि नपाइएला भन्ने पिर छ,” राईले भन्नुभयो ।

    घर भत्किए, बस्ने ठाउँ छैन

    कोप्चेका भगिश्वर बेघाको गाईगोठ र शौचालय पहिरोले बगाएको छ। ठूलो ढुङ्गा खस्दा तीनतले घरको मूल संरचना हल्लिएको छ भने बरण्डाको भाग भाँचिएको छ। घरमा झरेको पहिरो पन्छाउन एक महिना लागेको उहाँले बताउनुभयो ।

    ठूलो पानी पर्नासाथ घर छाडेर भाग्नुको विकल्प नभएको बेघाको भनाइ छ ।

    “मेरो घर बनाउने अर्को ठाउँ छैन। गरिबदुःखी हौँ, घाँसदाउरा गर्छौं। राम्रो ठाउँ जति भत्काएर लगिहाल्यो,” उहाँले भन्नुभयो, “घरैसम्म पहिरो छ । कसरी जीवन कटाउनु खोइरु”

    समथर जग्गा नहुँदा बेघा परिवारले शौचालयसमेत बनाउन सकेको छैन। पहिरोले क्षति गरेपछि अर्काको घरको शौचालय प्रयोग गर्नुपर्ने बाध्यता रहेको बेघाकी श्रीमती तिजमाया बेघाले बताउनुभयो ।

    सडक, विद्युत् र खानेपानीसमेत प्रभावित

    पहिरोका कारण स्थानीयको घर मात्र नभई सडक, खानेपानी तथा सिँचाइका संरचनामा समेत क्षति पुगेको छ । कोप्चे र सिस्ने क्षेत्रमा आवतजावत प्रभावित भएको स्थानीयको भनाइ छ ।

    सिस्नेका यामबहादुर मगरको घरनजिकै ठूलो पहिरो आइपुगेको छ। पहिरोका कारण उहाँसहित पदमसिंह, सुजन र चन्द्रबहादुर मगरको परिवारसमेत बसाइँ सर्नुपर्ने अवस्थामा पुगेको छ ।

    “यहाँ रातको समयमा सुत्नै हुँदैन । अलि सुरक्षित ठाउँमा जान्छौँ। तर पानी पर्‍यो भने जहाँ पुगे पनि उस्तै जोखिम हुन्छ,” मगरले भन्नुभयो।

    ठिङ्गेपुरका बलबहादुर नेपालीका अनुसार भाङटारका चार र सिस्नेका चार घर बाढीपहिरोबाट पूर्ण रूपमा प्रभावित भएका छन्। ती घरमा भविष्यमा बस्न नसक्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

    राहत पाए पनि जोखिम कायमै

    स्थानीयका अनुसार बाढीपहिरोबाट ठूलो क्षति भए पनि गाउँपालिका र वडाले अनुगमन गरी सामान्य राहत उपलब्ध गराएका छन्। तर बस्ती नै जोखिममा परेकाले राहतभन्दा सुरक्षित स्थानमा स्थानान्तरण र दीर्घकालीन समाधान आवश्यक रहेको उनीहरूको भनाइ छ ।

    याङवरक–१ का वडासदस्य नरबहादुर गुरुङका अनुसार चाम्लिङडाँडा, कोप्चे, बिरुवा र सिस्नेमा बाढीपहिरोले दर्जनौँ घरपरिवार जोखिममा परेका छन्।

    “बस्ती नै जोखिममा परेका कारण अन्यत्रै जाने अवस्था पनि छैन। वर्षा हुनासाथ स्थानीय बासिन्दा जागै बस्नुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो ।

    स्थानीयले तत्काल जोखिमयुक्त क्षेत्रको प्राविधिक अध्ययन, सुरक्षित स्थानमा स्थानान्तरण तथा सडक, खानेपानी, विद्युत् र सिँचाइजस्ता आधारभूत संरचनाको पुनर्निर्माण गर्न माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images