काठमाडौं–भारी वर्षाको जोखिमसँगै बाढी, पहिरो तथा डुबानको सम्भावना बढेपछि लुम्बिनी प्रदेश सरकारले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी तथा केही स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेपछि प्रदेश सरकारले विपद् व्यवस्थापन संयन्त्रलाई सक्रिय बनाएको हो ।
प्रदेश सरकारले १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, स्थानीय तह तथा सामाजिक सङ्घसंस्थासँग समन्वय गरी सम्भावित जोखिम र प्रतिकार्यको तयारी गरिरहेको जनाएको छ ।
जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना प्रवाह, उद्धार तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई तयारी अवस्थामा राखिएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले सम्भावित विपद् प्रतिकार्यका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको र प्रदेश सरकारले जिल्ला तथा स्थानीय तहसँग निरन्तर समन्वय गरिरहेको बताउनुभयो ।
प्रदेशका प्रमुख सचिव विनोदबहादुर कुँवरले जोखिम क्षेत्र पहिचान गरी सोहीअनुसार विपद् प्रतिकार्यको तयारी मजबुत बनाइएको जानकारी दिनुभयो ।
सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सम्बन्धित सरोकारवाला निकायबीच सूचना आदानप्रदान र आवश्यक स्रोतसाधन परिचालनका लागि समन्वय भइरहेको उहाँले बताउनुभयो ।
पहाडी क्षेत्रमा पहिरो, तराईमा डुबानको जोखिम
लुम्बिनी प्रदेशका पहाडी जिल्लामा पहिरो, भूक्षय र बाढीको जोखिम बढी रहेको छ । तराईका जिल्लामा भने नदी तथा खोलामा पानीको सतह बढ्दा बाढी र डुबानको जोखिम बढ्ने देखिएको प्रदेश सरकारले जनाएको छ ।
प्रदेशको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयले पनि आजदेखि असोज १२ गतेसम्म हुनसक्ने भारी वर्षालाई मध्यनजर गर्दै सतर्कता अपनाउन तथा आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ ।
मन्त्रालयले बाढी, पहिरो, गेग्रान बहाव तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिम रहेकाले सम्बन्धित निकायलाई आवश्यक तयारी अवस्थामा रहन अनुरोध गरेको छ ।
प्रदेश सरकारले भारी वर्षाका बेला अनावश्यक यात्रा नगर्न तथा बाढी, पहिरो र डुबानको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।


विश्व खबर 


















