images
images
  • राजमार्ग अवरुद्ध हुँदा काठमाडौँमै रोकिए सार्वजनिक सवारी

    काठमाडौं– विभिन्न राजमार्ग बाढी र पहिरोका कारण अवरुद्ध भएपछि देशका विभिन्न भागबाट काठमाडौँ आएका सार्वजनिक सवारीसाधन उपत्यकामै रोकिएका छन् ।

    बिहीबारदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण काठमाडौँ जोड्ने प्रमुख राजमार्गमा आवागमन प्रभावित भएको हो। राजमार्ग अवरुद्ध हुँदा काठमाडौँबाट बाहिरिने तथा विभिन्न जिल्लाबाट राजधानी भित्रिने सार्वजनिक यातायात प्रभावित भएको छ ।

    काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले काठमाडौँ जोड्ने प्रमुख राजमार्ग बन्द हुँदा सार्वजनिक बस उपत्यकामै रोकिएको जानकारी दिनुभयो ।

    उहाँका अनुसार पृथ्वी राजमार्ग र बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। काठमाडौँबाट हेटौँडा जाने फर्पिङको बाटो भने सञ्चालनमा रहेकाले साना सवारीसाधन आवतजावत गरिरहेको उहाँले बताउनुभयो ।

    नयाँबसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लका अनुसार बिहीबार साँझदेखि गोङ्गबुस्थित नयाँबसपार्कमा सार्वजनिक यातायातका सवारीसाधन रोकिएका छन् ।

    “देशका विभिन्न भागबाट काठमाडौँ जोड्ने राजमार्ग बाढी र पहिरोका कारण अवरुद्ध हुँदा अधिकांश सवारीसाधन नयाँबसपार्कमा रोकिएका छन्,” उहाँले भन्नुभयो ।

    उपत्यकाका नदीमा पानीको सतह बढ्दै

    यसैबीच, बिहीबार बिहानैदेखि काठमाडौँ उपत्यकामा निरन्तर वर्षा भइरहेको छ। लगातारको वर्षाका कारण उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढ्दै गएको छ ।

    नदीमा पानीको बहाव बढ्न थालेपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नदी करिडोरमा सवारीसाधन नरोक्न तथा पार्किङ नगर्न आग्रह गर्दै माइकिङ गरेको छ ।

    ट्राफिक प्रहरीले नदी तथा खोला आसपासका सडकमा जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

    चालकलाई सावधानी अपनाउन आग्रह

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पनि भारी वर्षाका कारण राजमार्गमा पहिरो जानसक्ने भन्दै सवारी चालक तथा व्यवसायीलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

    महासङ्घका महासचिव डेकनाथ गौतमले वर्षाका कारण कुनै पनि बेला राजमार्ग अवरुद्ध हुनसक्ने भएकाले सुरक्षा निकायसँग समन्वय गरेर मात्रै सवारी सञ्चालन गर्न व्यवसायी तथा चालकलाई आग्रह गर्नुभयो ।

    उहाँले यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर सडकको अवस्था बुझेर मात्रै आवतजावत गर्न आग्रह गर्नुभएको छ ।

    असोज ८ देखि १२ गतेसम्म देशका विभिन्न भागमा भारी वर्षा हुने पूर्वानुमानसहित विभिन्न सरकारी निकायले नागरिकलाई सतर्क रहन अपिल गरिरहेका छन् ।

    लगातारको वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरोधको जोखिम बढेकाले लामो दूरीको यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images