काठमाडौं– देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा भइरहेको र बाढी, पहिरो तथा डुबानको जोखिम बढेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मन्त्रालय उच्च सतर्कतासहित तयारी अवस्थामा रहेको बताएकी छन् ।
आज श्रव्यदृश्य सन्देश जारी गर्दै मन्त्री मेहताले सम्भावित विपद्को अवस्थालाई मध्यनजर गर्दै देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक जनशक्ति, औषधि र स्वास्थ्य सामग्री तयारी अवस्थामा राखिएको जानकारी दिइन् ।
उनका अनुसार आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्ने तथा विपद्को अवस्था सिर्जना भए तत्काल स्वास्थ्यकर्मी परिचालन गर्न सकिनेगरी आवश्यक व्यवस्था मिलाइएको छ ।
स्वास्थ्य आपतकालीन केन्द्र चौबिसै घण्टा सक्रिय
मन्त्रालयले प्रदेश तथा स्थानीय तहका स्वास्थ्य निकायसँग निरन्तर समन्वय गरिरहेको मन्त्री मेहताले बताइन् । प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई चौबिसै घण्टा तयारी अवस्थामा राखेर सूचना सङ्कलन, समन्वय तथा प्रतिकार्य व्यवस्थापन भइरहेको उनले जानकारी दिइन् ।
सम्भावित जोखिमयुक्त क्षेत्रमा आवश्यक औषधि तथा स्वास्थ्य सामग्री पर्याप्त मौज्दात राखिएको मन्त्रालयले जनाएको छ। यस्तै, सर्पदंशविरुद्धको औषधि, जीवनजललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गर्नुका साथै द्रुत प्रतिकार्य टोलीलाई समेत तयारी अवस्थामा राखिएको मन्त्री मेहताले बताइन् ।
गर्भवती र दीर्घरोगीलाई सावधानी अपनाउन आग्रह
मन्त्री मेहताले विशेषगरी प्रसूतिको सम्भावित समय नजिक रहेका गर्भवती, दीर्घरोगी तथा नियमित औषधि सेवन गरिरहेका नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेकी छन् ।
नियमित सेवन गर्ने औषधि पर्याप्त मात्रामा साथमा राख्न र सम्भावित जोखिमका बेला सुरक्षित स्थानमा रहन उनले अनुरोध गरिन् ।
“स्वास्थ्य मन्त्रालय नागरिकको स्वास्थ्य सुरक्षाका लागि आवश्यक सबै संयन्त्रसहित तयारी अवस्थामा छ,” मन्त्री मेहताले भनिन् ।


विश्व खबर 


















