काठमाडौं – हिमालय एयरलाइन्सले काठमाडौं–सांघाई–काठमाडौं नियमित सीधा उडान पुनः सञ्चालन गर्ने भएको छ । एयरलाइन्सले आगामी असोज १२ गते अर्थात् सेप्टेम्बर २८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र चीनको सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलबीच नियमित उडान सुरु गर्न लागेको हो ।
सुरुवाती चरणमा एयरलाइन्सले सातामा दुईवटा उडान सञ्चालन गर्ने जनाएको छ । तालिकाअनुसार काठमाडौंबाट सांघाईका लागि प्रत्येक सोमबार र शुक्रबार तथा सांघाईबाट काठमाडौंका लागि मंगलबार र शनिबार उडान हुनेछ ।
काठमाडौंबाट साँझ ६ः२५ बजे उडेको विमान भोलिपल्ट बिहान २ बजे सांघाई पुग्नेछ । त्यसैगरी सांघाईबाट बिहान ३ बजे प्रस्थान गर्ने विमान बिहान ७ः१० बजे काठमाडौं अवतरण गर्नेछ ।
यात्रुको माग तथा चापका आधारमा आगामी दिनमा उडान संख्या थप गर्ने विषयमा समीक्षा गरिने एयरलाइन्सले जनाएको छ ।
काठमाडौं–सांघाई सीधा उडान पुनः सञ्चालनमा आएपछि नेपाल र चीनबीचको व्यापार, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा एयरलाइन्सले गरेको छ ।
उडानका लागि टिकट हिमालय एयरलाइन्सका टिकट काउन्टर, आधिकारिक यात्रा साझेदार, कम्पनीको वेबसाइट तथा मोबाइल अनुप्रयोगमार्फत बुक गर्न सकिनेछ ।


विश्व खबर 


















