न्युयोर्क– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुअघि बुधबार संयुक्त राष्ट्रसंघको मुख्यालय बाहिर प्रदर्शनकारीहरू भेला भएपछि तनाव बढेको छ ।
गाजामा जारी युद्ध, यहुदीविरोधी गतिविधि तथा न्युयोर्कका मेयर जोहरान ममदानीले इजरायली नेतामाथि गरेको आलोचनालाई लिएर प्रदर्शन र राजनीतिक तनाव चुलिएको हो ।
‘प्यालेस्टिनी राज्य नहुने बताउने व्यक्ति नै हिंसा भड्काउने व्यक्ति हो,’ प्यालेस्टाइन समर्थक प्रदर्शनकारी किलियन अमाटोले भने ।
उनको भनाइलाई भने यहुदीविरोधी गतिविधि बढेको भन्दै विरोधमा उत्रिएका ठूलो समूहको प्रदर्शनले छोपेको थियो ।
‘हाम्रो सभाघरबाट करिब २०० फिट परबाट बाहिर निस्किएका हाम्रा एक सदस्यलाई अल्लाहु अकबर भन्दै एक व्यक्तिले पेचकसले आक्रमण गरेका थिए,’ द जुइस सेन्टरका रब्बी योसी लेभिनले भने ।
लेभिन पनि उक्त विरोध प्रदर्शनमा वक्ताका रूपमा सहभागी थिए ।
उनले यसै गर्मीयाममा म्यानहट्टनको अपर वेस्ट साइडमा चक्कु प्रहारमा परेका दुई व्यक्तिमध्ये आफ्ना सभाघरका एक सदस्यसम्बन्धी घटना उल्लेख गरे ।
रब्बी लेभिनले यस्तो वातावरण सिर्जना गर्न मेयर ममदानीको अभिव्यक्तिले पनि योगदान गरेको आरोप लगाए ।
‘मेयरले नरसंहार, रंगभेदी व्यवस्था र युद्ध अपराध जस्ता शब्द प्रयोग गर्दै लोकतान्त्रिक रूपमा निर्वाचित देशका प्रधानमन्त्रीलाई लक्षित गरेर उनलाई पक्राउ गर्नुपर्छ भन्नुहुन्छ भने त्यसको वास्तविक जीवनमा कुनै परिणाम हुँदैन भन्ने अपेक्षा गर्न सकिँदैन,’ उनले भने ।
यसैबीच, नेतान्याहुले हिब्रु भाषामा भिडियो सार्वजनिक गर्दै आफू इजरायलको रक्षा गर्न न्युयोर्कका लागि प्रस्थान गर्न लागेको बताएका छन् ।
उनले भिडियोमा केही आश्चर्य हुनेसमेत बताएका छन् ।
उनले आफ्नो सम्बोधनको तयारी गरिरहेको तस्बिर पनि सार्वजनिक गरेका छन् ।
नेतान्याहुले सन् २०२३ मा हमासले गरेको आक्रमणमा १ हजार २०० इजरायली मारिएको घटनालाई विश्व नेताहरूलाई स्मरण गराउने र त्यसपछि इजरायलले गरेको सैन्य कारबाहीको औचित्य प्रस्तुत गर्ने बताएका छन् ।
उनका अनुसार उक्त सैन्य कारबाहीका क्रममा ७० हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ ।
सोमबार नेतान्याहुले आफ्नो सम्बोधनमा मेयर ममदानीलाई पनि जवाफ दिने बताएका थिए ।
‘म हाम्रा वीर सैनिकको सत्य बताउनेछु र तपाईंका बारेमा पनि सत्य बताउनेछु,’ नेतान्याहुले भनेका थिए ।
ममदानीले भने आफ्नो अडानको निरन्तर बचाउ गर्दै आएका छन् ।
सोमबार राति उनले नेतान्याहुलाई पक्राउ गर्नुपर्ने आफ्नो धारणा दोहोर्याएका थिए ।
त्यसको भोलिपल्ट मंगलबार उनले नेतान्याहुले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोको प्रत्यक्ष जवाफ दिएका थिए ।
‘प्रधानमन्त्री प्यालेस्टिनीमाथि भएको भयानक नरसंहारका मुख्य योजनाकार हुन् । केही दिनअघि मात्रै उनको सेनाले गाजामा सुरक्षित क्षेत्रका रूपमा तोकिएको स्थानमा ११ वर्षीय बालकको हत्या गरेको छ । नेतान्याहुको भिडियोबारे मेरो भन्नुपर्ने कुरा यही हो,’ ममदानीले भने ।
नेतान्याहुले बिहीबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
उनको सम्बोधनअघि संयुक्त राष्ट्रसंघको मुख्यालय आसपास प्रदर्शन तथा राजनीतिक तनाव जारी रहेको छ ।


विश्व खबर 


















