images
images
  • अपाङ्गता भएका व्यक्तिका लागि इसेवाले सुरु गर्‍यो ‘स्वावलम्बन कर्जा’

    काठमाडौं – इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलको सहकार्यमा अपाङ्गता भएका व्यक्तिका लागि लक्षित डिजिटल कर्जा सुविधा ‘स्वावलम्बन कर्जा’ सुरु गरिएको छ ।

    काठमाडौंमा आयोजित एक कार्यक्रममा इसेवा र सिटिजन्स बैंकले अपाङ्गता भएका व्यक्तिको वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले उक्त कर्जा सुविधा सार्वजनिक गरेका हुन् ।

    नयाँ सुविधाले कर्जा लिन आवश्यक लामो प्रक्रिया, कागजी काम तथा भौतिक उपस्थितिलाई सहज बनाउने लक्ष्य राखेको छ ।

    कार्यक्रममा इसेवा, सिटिजन्स बैंक इन्टरनेसनल, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, विकास साझेदार संस्था, अपाङ्गता भएका व्यक्ति तथा सञ्चारमाध्यमका प्रतिनिधिको सहभागिता थियो ।

    इसेवा एपबाटै कर्जाका लागि आवेदन

    ‘स्वावलम्बन कर्जा’मार्फत योग्य अपाङ्गता भएका व्यक्तिले इसेवा एपबाटै कर्जाका लागि आवेदन दिन सक्नेछन् । यस सुविधाअन्तर्गत १० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म कर्जा लिन सकिनेछ ।

    कर्जाको वार्षिक ब्याजदर ९.९९ प्रतिशत र प्रशोधन शुल्क ०.७५ प्रतिशत रहेको छ ।

    योग्य प्रयोगकर्ताले इसेवा एपको गृहपृष्ठमा रहेको ‘स्वावलम्बन कर्जा’ शीर्षकमा क्लिक गरी आवेदन प्रक्रिया पूरा गर्न सक्नेछन् ।

    कर्जा पाउन के चाहिन्छ ?

    कर्जा लिन प्रयोगकर्ताको इसेवा खाता केवाइसी प्रमाणित भएको हुनुपर्नेछ। नेपाल सरकारबाट जारी अपाङ्गता परिचयपत्र भएको, कम्तीमा ६ महिनादेखि इसेवा प्रयोग गर्दै आएको तथा तलब वा व्यवसायबाट नियमित आम्दानी हुने व्यक्ति कर्जाका लागि योग्य हुनेछन् ।

    कर्जा स्वीकृति सम्बन्धित मूल्याङ्कन तथा लागू हुने नियमअनुसार हुने बैंकले जनाएको छ ।

    वित्तीय पहुँच विस्तार गर्ने प्रयास

    कार्यक्रममा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले ‘स्वावलम्बन कर्जा’मार्फत डिजिटल प्रविधिको प्रयोग गर्दै अपाङ्गता भएका व्यक्तिका लागि कर्जामा पहुँच सरल र सहज बनाउन खोजिएको बताए ।

    उनले शारीरिक अवस्थाका कारण कुनै पनि व्यक्तिको वित्तीय पहुँच सीमित हुन नहुने धारणा राख्दै उक्त सुविधाले अपाङ्गता भएका व्यक्तिलाई वित्तीय सेवामा थप सहज रूपमा सहभागी हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख सञ्चालन अधिकृत रोशन मानन्धरले अपाङ्गता भएका व्यक्तिको औपचारिक कर्जामा पहुँच विस्तार गर्न इसेवासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।

    उनका अनुसार ‘स्वावलम्बन कर्जा’मार्फत व्यक्तिगत तथा आर्थिक आवश्यकतामा सहयोग पुग्ने वित्तीय समाधान उपलब्ध गराउने अपेक्षा गरिएको छ । उनले इसेवासँगको सहकार्यले अपाङ्गता भएका व्यक्तिलाई लक्षित वित्तीय सेवाको पहुँच विस्तारसँगै नयाँ प्रकारको वित्तीय पारिस्थितिक प्रणाली निर्माणमा सहयोग पुग्ने बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images