images
images
  • शनिबारसम्म वर्षा बढ्ने, बाढी–पहिरोबाट सतर्क रहन आग्रह

    काठमाडौं – आगामी शनिबारसम्म देशका विभिन्न स्थानमा वर्षाको गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसमविद्ले भारी वर्षाका कारण बाढी, पहिरो तथा अन्य विपद्को जोखिम हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् ।

    नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेविड ढकालले हालको मौसम अवस्थालाई लिएर अत्यधिक डराउनुपर्ने अवस्था नरहेको तर मौसमसम्बन्धी सूचना नियमित रूपमा अद्यावधिक गर्नुपर्ने बताएका छन् ।

    “वर्षा हुने सम्भावना देखिएकाले सतर्कता अपनाउनुपर्ने आवश्यकता छ, तर अत्यधिक डराउनुपर्ने अवस्था देखिएको छैन,” उनले भने, “मौसम छिनछिनमा परिवर्तन हुनसक्ने भएकाले न्यूनचापीय प्रणालीको निरन्तर निगरानी गरिरहेका छौँ र यसको प्रभावबारे नियमित रूपमा अद्यावधिक सूचना सार्वजनिक गर्दै जानेछौँ ।”

    जलवाष्पयुक्त हावा नेपालतर्फ

    मौसमविद् ढकालका अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली गहिरो न्यूनचापीय प्रणालीमा परिणत भई भारतको उत्तरी आन्ध्र प्रदेश तथा दक्षिणी ओडिसा आसपास जमिनमा प्रवेश गरेको छ ।

    उक्त प्रणालीका कारण जलवाष्पयुक्त हावा नेपालतर्फ आइरहेकाले वर्षाको गतिविधि बढेको उनले बताए ।

    हाल कर्णाली प्रदेशदेखि पूर्वी भू–भागसम्म सामान्यतया बादल लागेको छ। गण्डकीको पूर्वी भू–भाग, लुम्बिनी, बागमती, कोशी तथा मधेस प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको विभागले जनाएको छ ।

    १६४ मिलिमिटरसम्म वर्षा

    पछिल्लो २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ । पाल्पा, अर्घाखाँची र कपिलवस्तु आसपास भने भारीदेखि धेरै भारी वर्षा भएको मौसमविद् ढकालले बताए ।

    उनका अनुसार ती क्षेत्रमा अधिकतम करिब १६४ मिलिमिटरसम्म वर्षा मापन गरिएको छ ।

    शुक्रबार वर्षा अझ बढ्ने

    आज लुम्बिनी प्रदेशदेखि पूर्वी भू–भागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने तुलनात्मक रूपमा कम भू–भागमा वर्षा हुने अनुमान गरिएको छ ।

    मौसमविद् ढकालका अनुसार आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । ती प्रदेशका तराई भू–भागका केही स्थानमा सामान्यभन्दा केही बढी हावाहुरी चल्नसक्ने सम्भावना पनि रहेको छ ।

    शुक्रबार वर्षाको गतिविधि अझ बढ्ने सम्भावना रहेको उनले बताए । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेकाले ती क्षेत्रमा विशेष सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ ।

    शनिबार पश्चिमतर्फ वर्षा केन्द्रित हुने

    शुक्रबार कर्णाली प्रदेशदेखि पूर्वी भू–भागसम्म वर्षा केन्द्रित हुने र केही स्थानमा भारी वर्षा हुनसक्ने मौसमविद् ढकालले बताए ।

    मौसम पूर्वानुमानमा सुन्तला रङले देखाइएका क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन उनले आग्रह गरेका छन् ।

    शनिबार भने वर्षाको गतिविधि क्रमशः पश्चिमतर्फ केन्द्रित हुने अनुमान छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेकाले ती क्षेत्रमा उच्च सतर्कता आवश्यक रहेको मौसमविद् ढकालले बताए ।

    गण्डकीदेखि पश्चिमका विभिन्न भू–भागमा समेत वर्षाको गतिविधि बढ्ने सम्भावना रहेकाले बाढी, पहिरो तथा वर्षाजन्य विपद्को जोखिम रहेका क्षेत्रमा आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images