images
images
  • दुई महिनामा ११ अर्बको विदेशी लगानी प्रतिबद्धता, गत वर्षभन्दा २२ अर्बले घट्यो

    काठमाडौं – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालमा ११ अर्ब १२ करोड ४४ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

    उद्योग विभागका अनुसार साउन र भदौमा ३२८ वटा उद्योग तथा परियोजनाका लागि उक्त लगानी प्रतिबद्धता प्राप्त भएको हो ।

    कुल स्वीकृत परियोजनामध्ये ३२२ वटा उद्योग स्वचालित मार्गबाट ९ अर्ब ७४ करोड ५० लाख रुपैयाँ र ६ वटा उद्योग स्वीकृति मार्गबाट १ अर्ब ३७ करोड ९४ लाख रुपैयाँ बराबरको लगानी भित्र्याउन स्वीकृत भएका छन् ।

    भदौमा बढ्यो लगानी प्रतिबद्धता

    महिनागत रूपमा हेर्दा साउनको तुलनामा भदौमा लगानी प्रतिबद्धता रकम बढेको छ । भदौमा मात्रै १३६ वटा परियोजनाका लागि ६ अर्ब ३५ करोड १५ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

    भदौमा स्वीकृत भएका १३६ परियोजनामध्ये १३५ वटा स्वचालित मार्गबाट आएका हुन् ।

    यसअघि साउनमा १९२ वटा परियोजनामार्फत ४ अर्ब ७७ करोड २८ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो । उद्योगको संख्याका आधारमा साउन अगाडि रहे पनि लगानी रकमका आधारमा भदौ अगाडि देखिएको छ ।

    गत वर्षको तुलनामा ठूलो गिरावट

    चालु आर्थिक वर्षको पहिलो दुई महिनाको विदेशी लगानी प्रतिबद्धता गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निकै कम हो ।

    आर्थिक वर्ष २०८२/८३ को साउन र भदौमा ३३ अर्ब रुपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता आएको थियो । गत वर्ष साउनमा मात्रै करिब २४ अर्ब र भदौमा करिब ९ अर्ब रुपैयाँ बराबरको प्रतिबद्धता आएको थियो ।

    तर चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ११ अर्ब १२ करोड ४४ लाख रुपैयाँमा सीमित भएको छ । यसअनुसार गत वर्षको सोही अवधिको तुलनामा प्रतिबद्धता रकममा करिब २२ अर्ब रुपैयाँको कमी देखिएको छ ।

    पर्यटनमा सबैभन्दा धेरै रकम

    क्षेत्रगत रूपमा हेर्दा लगानी प्रतिबद्धताको रकम सबैभन्दा धेरै पर्यटन क्षेत्रमा आएको छ ।

    पर्यटन क्षेत्रका ७० वटा उद्योगका लागि ३ अर्ब ७४ करोड २८ लाख रुपैयाँ प्रतिबद्धता आएको छ । यो कुल प्रतिबद्धताको करिब ३४ प्रतिशत हो ।

    त्यस्तै, सेवामूलक क्षेत्रका २६ वटा उद्योगका लागि ३ अर्ब ३० करोड ५४ लाख रुपैयाँ, ऊर्जामूलक क्षेत्रको एक परियोजनाका लागि २ अर्ब रुपैयाँ तथा उत्पादनमूलक क्षेत्रका १८ वटा उद्योगका लागि १ अर्ब २३ करोड ९२ लाख रुपैयाँ प्रतिबद्धता आएको छ ।

    कृषिमूलक क्षेत्रमा भने २ करोड रुपैयाँको एक परियोजना आएको छ । खनिज र पूर्वाधारमूलक क्षेत्रमा भने कुनै लगानी प्रतिबद्धता आएको छैन ।

    उद्योग संख्यामा सूचना प्रविधिको वर्चस्व

    उद्योगको संख्याका आधारमा भने सूचना प्रविधि क्षेत्र अगाडि देखिएको छ ।

    यस क्षेत्रमा २१२ वटा परियोजनाका लागि ८१ करोड ६९ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । यो कुल उद्योग संख्याको करिब ६५ प्रतिशत हो ।

    विदेशी लगानीकर्ताको रुचि साना उद्योगमा बढी देखिएको छ । दुई महिनामा स्वीकृत ३२८ उद्योगमध्ये ३२३ वटा साना, २ वटा मझौला र ३ वटा ठूला उद्योग रहेका छन् ।

    ३ हजार ४४७ रोजगारी सिर्जना हुने

    प्रस्तावित उद्योग तथा परियोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि ३ हजार ४४७ जनाले रोजगारी पाउने विभागको प्रक्षेपण छ ।

    भदौमा मात्रै स्वीकृत परियोजनाबाट ९८३ जनाका लागि रोजगारी सिर्जना हुने अनुमान गरिएको छ ।

    यस अवधिमा विभागले ८५ जना विदेशी लगानीकर्ता, ६२ जना प्रतिनिधि र ८६ जना आश्रित सदस्यका लागि व्यावसायिक भिसा सिफारिस गरेको छ ।

    विभागले नेपालबाट रोयल्टी, सेवा शुल्क तथा लाभांशबापत विभिन्न विदेशी मुद्रामा रकम फिर्ता लैजानसमेत आवश्यक स्वीकृति प्रदान गरेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images