काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बस्दैछ ।
बैठक आज बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्न लागेको हो ।
पार्टी पुनर्गठनको बहस चलिरहेका बेला नेतृत्वबीच सहमति जुट्न नसकेपछि एउटै प्रतिवेदन तयार पार्ने उद्देश्यले बैठक बोलाइएको बताइएको छ ।
यसअघि महासचिव शंकर पोखरेल र उपाध्यक्ष रामबहादुर बादलले अलग अलग प्रतिवेदन तयार गरेपछि विवाद बढेको छ । अघिल्लो साता आवासीय बैठक बसेर दुवै प्रतिवेदनलाई एक बनाउने प्रयास गरिए पनि नेताहरुबीच सहमति हुन सकेन ।
दुई प्रतिवेदनलाई एउटै बनाउन नसकेपछि अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले छुट्टै प्रतिवेदन तयार पारेको समाचारहरू सार्वजनिक भएका छन् । उक्त प्रतिवेदनमा पार्टी अध्यक्ष केपी ओलीको प्रशंसा नै प्रशंसा गरिएको बताइएको छ ।
ज्ञवालीले ओलीले विगतमा धेरै राम्रो काम गरेको र अहिले नेतृत्व परिवर्तनको विषय असान्दर्भिक रहेको निष्कर्ष प्रतिवेदनमा समावेश छ । तर, कार्यदलकै प्रतिवेदनमा भने अहिलेको नेतृत्व परिवर्तन गर्नुपर्ने निष्कर्ष निकालिएको छ ।
ज्ञवालीको उक्त प्रतिवेदन पनि आजको बैठकमा पेश हुने बताइएको छ ।
आज कार्यदल बैठकपछि दिउँसो १ बजे सचिवालय बैठक बस्नेछ । सचिवालयले भोलिदेखि सुरू हुने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नेछ ।
केन्द्रीय कमिटी बैठक असोज ५ देखि ७ गतेसम्म ललितपुरको भैँसेपाटीमा बस्ने तयारी छ ।


विश्व खबर 



















