काठमाडौं– मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहँदा देशका विभिन्न भू–भागमा वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुनसक्ने जनाएको छ ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने पश्चिमी वायुको समेत आंशिक प्रभाव देखिएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ ।
हाल लुम्बिनीसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बादल लागेको छ । तराई क्षेत्रमा भने आंशिक बदली रहेको छ । बागमतीका थोरै स्थान तथा कोशी, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
दिउँसो तीन प्रदेशमा भारी वर्षाको सम्भावना
आज दिउँसो हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ । हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्नेछ ।
तराईका एक–दुई स्थानमा समेत मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
राति पनि वर्षाको क्रम जारी रहने
आज राति हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका हिमाली क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ ।
त्यस्तै, कोशी, बागमती र गण्डकीका पहाडी भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागका एक–दुई स्थानमा समेत मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।


विश्व खबर 



















