काठमाडौं– मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई शुक्रबार दिउँसो ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आउनेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–४ घर भई हाल ललितपुरको ग्वार्को बस्ने २५ वर्षीय सुजन पुरकुटी, सोही स्थानका २३ वर्षीय आशिष गुरुङ र बनस्थली बस्ने मकवानपुरको बाग्मती गाउँपालिका–१ का २२ वर्षीय सन्देश बल रहेका छन् ।
बा ८७ प ९२० नम्बरको मोटरसाइकल काठमाडौंको नागार्जुन नगरपालिका–१ श्रीनगरबाट गत साउन १८ गते हराएको भनि गोरखाको भिमसेनथापा गाउँपालिका–५ का विनक श्रेष्ठले खोजतलासका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
उक्त नम्बरको मोटरसाइकलको नम्बर परिवर्तन गरी बा ८० प १४ ३७ नम्बर राखी गुहेश्वरी स्थित ड्रिम बाइक रिकण्डिसन भित्र लुकाई राखेको अवस्थामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलिले शुक्रबार दिउँसो पुरकुटी र गुरुङलाई नियन्त्रणमा लिएको हो ।
उक्त मोटरसाइकल नगद १७ हजारमा सन्देश बलसँग किनेको भनी उनीहरुले दिएको वयानका आधारमा शुक्रबार नै काठमाडौँको रानीबारीबाट बललाई पनि प्रहरीले पक्राउ गरेको हो ।
मोटरसाइकल सहित नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त स्वयम्भु पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए ।


विश्व खबर 



















