काठमाडौं- पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको प्रहरी मुख्यालयमा भएको विस्फोट र गोलीबारीमा मृत्यु हुनेको संख्या कम्तीमा ३१ पुगेको छ ।
मृतकमध्ये १६ जना प्रहरी कर्मचारी रहेका एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् । घटनामा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
शुक्रबार दिउँसो खैबर पख्तुनख्वा प्रान्तको कोहाटस्थित पुरानो प्रहरी लाइन परिसरमा आक्रमणकारीहरू प्रवेश गरी हमला गरेका थिए । करिब दुई लाख २० हजार जनसंख्या रहेको कोहाटमा रहेको उक्त प्रहरी परिसर जिल्ला तहको मुख्यालय हो ।
त्यहाँ आतंकवाद नियन्त्रण विभाग, विशेष शाखालगायत विभिन्न प्रहरी इकाइका कार्यालयहरू रहेका छन् ।
प्रहरीका अनुसार केही आक्रमणकारी अझै पनि प्रहरी परिसरको विशेष शाखा क्षेत्रमा लुकेर बसेका छन् ।
उनीहरूसँग सुरक्षाकर्मीको गोली हानाहान रातिदेखि नै जारी रहेको बताइएको छ । आक्रमणकारीको यकिन संख्या भने खुल्न सकेको छैन ।
पाकिस्तानले खैबर पख्तुनख्वा र दक्षिणी बलुचिस्तान प्रान्तमा बढिरहेका सशस्त्र आक्रमणका लागि अफगानिस्तानबाट सञ्चालन हुने भनिएका उग्रवादी समूहलाई जिम्मेवार ठहराउँदै आएको छ ।
तर अफगानिस्तानको तालिबान सरकारले आफ्नो भूमिबाट पाकिस्तानविरुद्ध हुने यस्ता गतिविधिमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ ।
यस विषयलाई लिएर पाकिस्तान र अफगानिस्तानबीच तनाव बढ्दै गएको छ ।
पाकिस्तानले अफगानिस्तानको भूमिमा रहेका लडाकुहरूलाई लक्षित गरेको दाबी गर्दै हवाई हमला समेत गर्दै आएको छ ।
गत जुनमा पूर्वी अफगानिस्तानमा भएका पाकिस्तानी हवाई हमलामा दर्जनौँ सर्वसाधारण मारिएको तालिबान सरकार र संयुक्त राष्ट्रसंघले बताएका थिए ।


विश्व खबर 




















