काठमाडौं- तेहरानमा इरानी स्वयंसेवकको शक्ति प्रदर्शन युद्ध सुरु भएको छ महिनाभन्दा बढी समयपछि आफ्ना समर्थकलाई परिचालन गर्ने प्रयासस्वरूप इरानको राजधानी तेहरानमा शुक्रबार हतियार बोकेका स्वयंसेवकले परेड प्रदर्शन गरेका छन् ।
तरबार बोकेका पुरुष तथा कालाश्निकोभ राइफल बोकेका र अनुहार छोपेका महिलाले देशको रक्षा गर्ने प्रतिबद्धता जनाउँदै परेडमा सहभागी भएका थिए ।
सैन्य पोसाकमा रहेका विद्यार्थीहरूले हातमा हतियार बोकेर दिवङ्गत सर्वोच्च नेता अली खामेनीको ठूलो तस्बिरअगाडि मार्च गरेका थिए ।
परेडमा सहभागी धेरैले आफूहरू देशका लागि ‘बलिदान’ दिन तयार रहेको बताएका छन् ।
नाम नबताउने सर्तमा ३८ वर्षीया एक महिलाले आफूलाई आवश्यक परेको जुनसुकै स्थानमा हतियारसहित जान तयार रहेको बताइन् ।
अमेरिका–इजरायलको आक्रमण तीव्र भइरहेका बेला इरानले अप्रिलको सुरुआतमा ‘जानफदा’ अर्थात् ‘मातृभूमिका लागि बलिदान’ नामक परिचालन अभियान सुरु गरेको थियो ।
अधिकारीका अनुसार सम्भावित परिचालनका लागि तीन करोडभन्दा बढी मानिसले नाम दर्ता गराएका छन् ।
यो इरानको करिब आठ करोड ६० लाख जनसङ्ख्याको झण्डै एकतिहाइ हो ।
अभियानअन्तर्गत स्वयंसेवकलाई हतियार सञ्चालन तथा प्राथमिक उपचारसम्बन्धी तालिम दिइँदै आएको अधिकारीले बताएका छन् ।


विश्व खबर 



















