काठमाडौं- सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण सुरु गरेयता सयौँ सर्वसाधारण तथा युद्धबन्दी यौनहिंसा र यातनाको सिकार भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
अभिलेखीकरण गरिएका अधिकांश घटनामा रुसी अधिकारी सङ्लग्न रहेको राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार, फेब्रुअरी २४, २०२२ देखि यस वर्षको जुलाई अन्त्यसम्म यौनहिंसाका एक हजार चार घटनाको अभिलेख गरिएको छ ।
तीमध्ये ८९ प्रतिशत घटनाका लागि रुसी अधिकारीलाई जिम्मेवार ठह¥याइएको छ ।
यसमा रुसी सशस्त्र बल, कारागार सेवा र राष्ट्रिय सुरक्षा सेवाका सदस्यहरू सङ्लग्न रहेको प्रतिवेदनमा उल्लेख छ ।
बाँकी ११ प्रतिशत घटनामा युक्रेनी अधिकारी सङ्लग्न रहेको जनाउँदै राष्ट्रसङ्घले दुवै पक्षलाई घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आग्रह गरेको छ ।
बीस पृष्ठको प्रतिवेदन यौनहिंसाका पीडित तथा बाँचेका व्यक्तिसँग गरिएका गोप्य अन्तर्वार्ता, अदालतका कागजात र आधिकारिक अभिलेखमा आधारित छ ।


विश्व खबर 



















