काठमाडौं- जापानमा शनिबारदेखि सुरु हुने २०औँ एसियाली खेलकुद (एसियाड)मा नेपालले एक स्वर्णसहित कम्तीमा १० पदक जित्ने लक्ष्य राखेको छ ।
एसियाडमा नेपालबाट २११ सदस्यीय टोली सहभागी हुँदैछ ।
टोलीमा २१ खेलका १३५ खेलाडी छन्, जसमा ५७ महिला र ७८ पुरुष छन् ।
नेपालले कराते, बक्सिङ, कबड्डी र उसुबाट पदकको बढी आशा गरेको छ ।
उद्घाटन समारोहमा नेपालको झन्डा बक्सिङका चन्द्र थापामगर र कबड्डीकी मानमती विष्टले बोक्नेछन् ।
चन्द्रले पछिल्लो विश्व बक्सिङ च्याम्पियनसिपमा कांस्य जितेका थिए भने मानमती हान्चाउ एसियाडमा कांस्य जित्ने नेपाली कबड्डी टोलीकी प्रमुख खेलाडी हुन् ।
नेपालले सन् १९५१ देखि एसियाडमा सहभागिता जनाउँदै आएको छ ।
हालसम्म नेपालले ३ रजत र २३ कांस्य जितेको छ ।
यसपटकको लक्ष्यका लागि नेपालले तीन वर्षदेखि नियमित प्रशिक्षण गर्दै ‘मिसन २०२६’ अभियान सञ्चालन गरेको छ ।
यसैबीच, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, खेलकुद सचिव चूडामणि पौडेल र राखेप सदस्य सचिव रामचरित्र मेहताले अन्तिम समयमा एसियाडमा सहभागी नहुने निर्णय गरेका छन् ।
पदाधिकारीको संख्या बढी भएको भन्दै आलोचना भएपछि उनीहरूले भ्रमण रद्द गरेको बताइएको छ ।


विश्व खबर 
















