images
images
  • कर्मचारीलाई तलब नदिने र लापरबाही गर्ने क्लासिक टेकलाई अदालतले तिरायो २ लाख ५० हजार जरिवाना

    काठमाडौं– लामो समय इन्टरनेट सेवा अवरुद्ध हुँदा पनि समस्या समाधान नगरी ग्राहकलाई मानसिक तनाव दिएको भन्दै उपभोक्ता अदालतले इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना तिराउने फैसला गरेको छ ।

    उपभोक्ता अदालतको दुई सदस्यीय इजलासले बिहीबार क्लासिक टेकलाई दोषी ठहर गर्दै यो निर्णय सुनाएको हो ।

    यससँगै उपभोक्ता अधिकार र सेवाग्राहीको न्यायका पक्षमा नजिर स्थापित भएको छ ।

    पीडित उपभोक्ता शिवप्रकाशका अनुसार सन्तोष पौडेलको नाममा जडान भएको इन्टरनेट सेवाका लागि गत अप्रिल १४, २०२६ मा एक वर्षका लागि करिब ६ हजार रुपैयाँ भुक्तानी गरिएको थियो ।

    तर, अप्रिल २२ को रातिदेखि इन्टरनेट पूर्ण रूपमा बिग्रियो ।

    इन्टरनेट बिग्रिएपछि कम्पनीको ह्वाट्सएप र फोनमार्फत पटक-पटक सम्पर्क गर्दा पनि प्राविधिकहरूले बिजुलीको पोल सारेको वा अर्को कम्पनीले तार काटेको भन्दै पन्छाउने काम मात्र गरे ।

    फोन गर्दा फरक-फरक व्यक्तिले उठाउने, ५–७ मिनेट होल्डमा राखेर फोन काटिदिनेजस्ता अपमानजनक व्यवहार भएको पीडितको गुनासो छ ।

    समस्या समाधानका लागि शिवप्रकाशले क्लासिक टेक, सञ्चार मन्त्री, नेपाल दूरसञ्चार प्राधिकरण, प्रहरी, जिल्ला प्रशासन कार्यालय भक्तपुर, हेलो सरकार, सञ्चार मन्त्रालयलगायत निकायमा पुगे पनि सुनुवाइ भएन ।

    प्राधिकरणको रोहबरमा भएको छलफलमा क्लासिक टेकका प्रतिनिधिले क्षतिपूर्ति दिने नीति नै नभएको भन्दै अस्वीकार गरे ।

    सबैतिरबाट निराश भएपछि पीडितले उपभोक्ता हित संरक्षण मञ्चको सहयोगमा उपभोक्ता अदालतमा १० लाख रुपैयाँ क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेका थिए ।

    फिरादपत्रमा कम्पनीले ग्राहकको गुनासो बेवास्ता गर्दै लापरवाही, गैरव्यावसायिक व्यवहार र आर्थिक अनुशासन मिचेको आरोप लगाइएको थियो ।

    अदालतको फैसलापछि शिवप्रकाशले भने, “यो लडाइँ पैसा वा व्यक्तिगत क्षतिका लागि मात्र होइन। उपभोक्ताले आफ्नो अधिकारका लागि बोल्नुपर्छ भन्ने चेतना फैलाउन र न्यायका लागि पनि हो । कहिलेकाहीँ एउटा व्यक्तिको आवाज व्यक्तिगत गुनासोमा सीमित हुँदैन, त्यो धेरै मानिसको साझा आवाज बन्न सक्छ ।”

    प्रतिक्रिया दिनुहोस्
    images
    images