images
images
  • इरान समर्थित हुथी विद्रोहीद्वारा साउदीमा क्षेप्यास्त्र र ड्रोनको वर्षा

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी युद्ध अन्त्यतिर पुगेको आशा व्यक्त गरेका छन् ।

    युद्ध सातौँ महिनामा प्रवेश गरिरहँदा साउदी अरबले यमनमा हवाई हमला तीव्र पारेको छ भने इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबका विभिन्न सहरमा ड्रोन र क्षेप्यास्त्र प्रहार गरेका छन् ।

    इरानसमर्थित हुथी विद्रोहीले लाल सागर आसपास तीव्र रूपमा आफ्नो प्रभाव विस्तार गर्नुका साथै साउदी अरबमाथि समेत आक्रमण गरेका छन् ।

    साउदी अरबको पूर्व–पश्चिम तेल पाइपलाइनमा समेत क्षति पुगेपछि युद्धमा इरानको प्रभाव थप फैलिएको र विश्वव्यापी तेल आपूर्तिमा जोखिम बढेको छ ।

    यमनसम्म युद्ध फैलिँदा विश्वव्यापी ऊर्जा आपूर्तिमा थप दबाब पर्न सक्ने देखिएको छ ।

    युद्धका कारण होर्मुज जलडमरूमध्य हुँदै हुने जहाज आवागमन प्रभावित भएको छ ।

    युद्ध सुरु हुनुअघि उक्त जलमार्गबाट विश्वको करिब २० प्रतिशत तेल र तरलीकृत प्राकृतिक ग्यास ओसारपसार हुने गरेको थियो ।

    साउदी अरबको पूर्व–पश्चिम तेल पाइपलाइन लामो समय बन्द रहेमा विश्वव्यापी तेल आपूर्तिको करिब ४ प्रतिशतसम्म प्रभावित हुन सक्ने व्यापारीहरूले बताएका छन् ।

    उदी अरबले पाइपलाइनको सञ्चालन कहिले पुनः सुरु हुन्छ भन्नेबारे अहिलेसम्म स्पष्ट जानकारी दिएको छैन ।

    युद्ध अन्त्यतिर पुगेको हुन सक्छ

    हुथी र साउदी अरबबीच पुनः लडाइँ चर्किएको खबर सार्वजनिक भएको केही घण्टापछि बुधबार साँझ पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘आशा छ, हामी युद्धको अन्त्यतिर पुगिरहेका छौँ ।’

    ट्रम्पले इरान सम्झौताको पक्षमा रहेको संकेत गर्दै इरानले सम्झौता गर्न चाहेको दाबी पनि गरे ।

    ‘उनीहरू सम्झौता गर्न चाहन्छन् । अब त्यसले कसरी काम गर्छ, हेर्नुपर्छ,’ उनले भने ।

    ट्रम्पले इरानबाट आफूले प्रत्यक्ष रूपमा जानकारी पाएको दाबी गरे पनि त्यसबारे थप विवरण दिएनन् ।

    फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि हमला गरेपछि युद्ध सुरु भएको थियो ।

    त्यसपछि इरानले इजरायल र खाडी क्षेत्रका अमेरिकी सैन्य आधारमा हमला गरेको थियो ।

    युद्धको अवधिमा ट्रम्पले युद्धका उद्देश्य र समयसीमाबारे विभिन्न धारणा सार्वजनिक गर्दै आएका छन् ।

    तेलको मूल्य अझै उच्च

    इरानविरुद्धको अमेरिका–इजरायल युद्धका कारण तेल तथा ग्यासको मूल्यमा वृद्धि भएको छ ।

    यसको प्रभाव आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि ट्रम्पको रिपब्लिकन पार्टीका लागि महत्वपूर्ण राजनीतिक विषय बनेको छ ।

    बुधबार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब १०८ डलर पुगेको थियो, जुन मेयताकै उच्च स्तरनजिक हो ।

    अमेरिकामा डिजेलको औसत खुद्रा मूल्य पनि पहिलोपटक प्रतिग्यालोन ६.३० डलरभन्दा माथि पुगेको छ ।

    तर बिहीबार बिहानको कारोबारमा तेलको मूल्य केही घटेको छ ।

    साउदी अरबले ओमान हुँदै थप कच्चा तेल आपूर्ति गर्ने तयारी गरेको खबर सार्वजनिक भएपछि मध्यपूर्वमा आपूर्ति अवरोधको चिन्ता केही कम भएको हो ।

    बिहीबार ००४९ जीएमटीसम्म ब्रेन्ट कच्चा तेलको वायदा मूल्य १.२४ डलर अर्थात् १।२ प्रतिशतले घटेर प्रतिब्यारेल १०४.५९ डलरमा पुगेको थियो ।

    अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य पनि १.१४ डलर अर्थात् १.१ प्रतिशतले घटेर प्रतिब्यारेल १०१.२९ डलरमा झरेको थियो ।

    खाडीका नेतासँग ट्रम्पको भेटवार्ता हुने

    समाचार संस्था एक्सियोसका अनुसार संयुक्त राष्ट्रसंघको महासभाका क्रममा मंगलबार ट्रम्पले खाडी क्षेत्रका नेताहरूसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ ।

    युद्धको आगामी रणनीति र त्यसपछिका कदमबारे छलफल गर्न ट्रम्पले खाडी सहयोग परिषद्का सदस्य राष्ट्रका नेता वा विदेशमन्त्रीसँग भेटवार्ता गर्ने एक्सियोसले जनाएको छ ।

    परिषद्मा साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, बहराइन, कुवेत र ओमान सदस्य छन् ।

    एक्सियोसले परिचय नखुलाइएका स्रोतलाई उद्धृत गर्दै यस्तो जानकारी दिएको हो ।

    अमेरिकी विदेश मन्त्रालय र ह्वाइट हाउसले भने यसबारे सोधिएको प्रतिक्रियाको तत्काल जवाफ दिएका छैनन् ।

    हुथीको साउदीविरुद्ध क्षेप्यास्त्र र ड्रोन हमला

    बुधबार हुथी विद्रोहीले साउदी समर्थित सेनाबाट बख्तरबन्द सवारीसाधन कब्जा गरेको दाबी गर्दै युद्धमैदानको भिडियो सार्वजनिक गरेको थियो ।

    भिडियोमा युद्धक विमान उडिरहेको र मरुभूमिमा ठूलो विस्फोट भएको दृश्यसमेत देखाइएको थियो ।

    हुथी सैन्य प्रवक्ता याह्या सारीले साउदी अरबको लाल सागरस्थित प्रमुख तेल बन्दरगाह यान्बु र दक्षिणी क्षेत्रमा रहेको खमिस मुशैतस्थित हवाई अड्डालाई लक्षित गरी नयाँ ड्रोन तथा क्षेप्यास्त्र हमला गरिएको दाबी गरेका छन्।

    तर उनले ती हमला कहिले भएका थिए भन्ने स्पष्ट पारेका छैनन् ।

    सारीका अनुसार साउदी सेनाले यो साता यमनमा हुथीका स्थानलाई लक्षित गरी ४५० वटासम्म हवाई हमला गरेको छ ।

    दक्षिणी यमन नियन्त्रणमा रहेको साउदी समर्थित सरकारका अधिकारीहरूले पनि आफ्ना सेना र साउदी अरबले हुथीका स्थानमा हवाई हमला गरिरहेको स्वीकार गरेका छन् ।

    यद्यपि साउदी अरबले भने ती हमलाबारे औपचारिक रूपमा पुष्टि गरेको छैन ।

    साउदी अरबले सन् २०१५ देखि हुथी विद्रोहीविरुद्ध सैन्य गठबन्धनको नेतृत्व गर्दै आएको छ ।

    पछिल्ला केही वर्षमा युद्धविरामका कारण संघर्ष तुलनात्मक रूपमा शान्त बनेको थियो ।

    तर जुलाईमा हुथीले साउदी अरबविरुद्ध समुद्री नाकाबन्दी घोषणा गरेपछि तथा साउदीको दक्षिणी क्षेत्रमा हमला गर्न थालेपछि द्वन्द्व पुनः चर्किएको हो ।

    यमनमा हुथीको बढ्दो सैन्य गतिविधि र साउदी अरबमाथिको पछिल्लो हमलाले इरान युद्धलाई नयाँ क्षेत्रसम्म विस्तार गरेको छ ।

    यसले मध्यपूर्वको ऊर्जा आपूर्ति तथा विश्वव्यापी तेल बजारमा थप अनिश्चितता बढाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images