काठमाडौं– दुर्गम हिमाली जिल्ला बाजुराका नागरिकले अब जटिल स्वास्थ्य उपचारका लागि धनगढी वा काठमाडौँ धाउनुपर्ने बाध्यता क्रमशः घट्दै गएको छ । जिल्ला अस्पताल बाजुरामै जटिल प्रसूति, एपेन्डिक्स तथा हाडजोर्नीसहितका शल्यक्रिया सफलतापूर्वक हुन थालेपछि स्थानीयवासीलाई राहत मिलेको छ ।
विशेषज्ञ चिकित्सकको सेवा विस्तारसँगै अस्पतालमा बिरामीको चापसमेत बढेको छ । अस्पतालका अनुसार हुम्ला, मुगु, कालीकोटलगायत जिल्लाबाट समेत दैनिक १५० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।
गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै अस्पतालले ३४ हजार ९५५ जनालाई स्वास्थ्य सेवा दिएको थियो । सो अवधिमा ३५१ जना बिरामीलाई थप उपचारका लागि अन्यत्र पठाइएको थियो। चालु आर्थिक वर्षको भदौ मसान्तसम्म थप ६ हजार ४६१ जनाले सेवा लिइसकेका छन् ।
चालु आवको दुई महिनामै १३९ जनाको हाडजोर्नीसम्बन्धी शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । हाल एमडिजिपी, हाडजोर्नी तथा नसारोग विशेषज्ञ चिकित्सकबाट सेवा प्रवाह भइरहेको छ ।
तर सेवा विस्तारसँगै अस्पतालमा जनशक्ति, औषधि, उपकरण र बजेटको अभाव चुनौती बनेको छ । १५ शय्याको अस्पतालमा १८ जनाको दरबन्दी रहे पनि हाल नौ जना मात्रै स्थायी दरबन्दीका कर्मचारी कार्यरत छन्। बाँकीमध्ये ८९ जना करार सेवामा छन् ।
अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हरिशबहादुर मल्लले अस्पताललाई तत्काल ५० शय्यामा स्तरोन्नति गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
प्रदेश सरकारबाट चालु आर्थिक वर्षको बजेट नआउँदा निःशुल्क औषधि खरिदसमेत प्रभावित भएको अस्पतालले जनाएको छ । ९८ प्रकारका निःशुल्क औषधि उपलब्ध गराउनुपर्ने भए पनि हाल करिब ५० प्रकार मात्रै वितरण भइरहेको छ ।
विशेषज्ञ सेवा र शल्यक्रियामा सुधार भए पनि पर्याप्त जनशक्ति, औषधि, उपकरण र व्यवस्थापन सुदृढ गर्न सके दुर्गम नागरिकले जिल्ला बाहिर उपचारका लागि गर्ने ठूलो खर्च र झन्झट अझ घटाउन सकिने देखिन्छ ।


विश्व खबर 




















