काठमाडौं – अस्ट्रेलियाले आप्रवासन प्रणालीमा कडाइ गर्दै भिसा अवधि सकिएपछि पनि बस्ने, एउटाबाट अर्को अस्थायी भिसामा निरन्तर जाने तथा प्रणालीको दुरुपयोग गर्ने गतिविधि नियन्त्रणका लागि नयाँ व्यवस्था घोषणा गरेको छ ।
गृह मामिला मन्त्री टोनी बर्कले बिहीबार राष्ट्रिय प्रेस क्लबमा आप्रवासन सुधारसम्बन्धी नयाँ व्यवस्था सार्वजनिक गर्दै सन् २०२८ सम्म शुद्ध वैदेशिक आप्रवासनलाई करिब २ लाख २५ हजारमा झार्ने लक्ष्य रहेको बताएका छन् । पछिल्लो १२ महिनामा यो संख्या २ लाख ९२ हजार १०० रहेको छ।
नयाँ व्यवस्थाअनुसार भिसाको अवधि सकिएपछि अस्ट्रेलियामै बसिरहनेमाथि निगरानी र कारबाही बढाइनेछ । सरकारले थप १०० जना अनुपालन अधिकारी नियुक्त गर्ने र आप्रवासन नियन्त्रणका लागि थप थुनुवा क्षमता पनि विस्तार गर्ने जनाएको छ ।
विद्यार्थीको भिसामा पनि कडाइ
अन्तर्राष्ट्रिय विद्यार्थीले एउटै वा तल्लो तहको अर्को पाठ्यक्रममा भर्ना भएर लगातार भिसा परिवर्तन गर्ने प्रवृत्तिलाई रोक्न नयाँ नियम ल्याइने भएको छ ।
सरकारले अब विद्यार्थीले आफ्नो शैक्षिक योग्यता क्रमशः माथिल्लो तहमा लैजानुपर्ने व्यवस्था गर्ने जनाएको छ । उदाहरणका लागि स्नातकपछि स्नातकोत्तर अध्ययन गर्न जाने विद्यार्थीलाई भने अनुमति दिइनेछ ।
अन्तर्राष्ट्रिय विद्यार्थीले परिवारका सदस्यलाई अस्ट्रेलिया लैजाने व्यवस्थामा पनि कडाइ गरिनेछ । तर यसअघि नै परिवारसहित अस्ट्रेलियामा रहेका विद्यार्थीका परिवारलाई छुट्याउने गरी नयाँ नियम लागू नगरिने सरकारले स्पष्ट पारेको छ ।
पर्यटक भिसामा ‘फेरि बस्न नपाइने’ सर्त
सरकारले सबै पर्यटक भिसामा ‘थप बस्न नपाइने’ सर्त लागू गर्ने जनाएको छ । यसबाट पर्यटक भिसालाई अस्ट्रेलियामा लामो समय बस्ने माध्यमका रूपमा प्रयोग गर्ने प्रवृत्ति रोक्ने सरकारको लक्ष्य छ ।
यस्तै, कामदार भिसामा निर्माण, स्वास्थ्य, शिक्षा, कानुन कार्यान्वयन, रक्षा तथा कृषि क्षेत्रका सीपयुक्त कामदारलाई प्राथमिकता दिने सरकारको योजना छ ।
काम गर्न आउने युवाका लागि दोस्रो र तेस्रो वर्षको भिसासँग सम्बन्धित क्षेत्रीय क्षेत्रमा काम गर्नुपर्ने व्यवस्था पनि कायम रहनेछ । सरकारले दोस्रो तथा तेस्रो वर्षको कामदार भिसामा थप सीमा तोक्ने घोषणा गरेको छ ।
सरकारले आप्रवासन प्रणालीलाई आवास र श्रम बजारको आवश्यकतासँग जोडेर व्यवस्थापन गर्ने बताएको छ । नयाँ व्यवस्थामाथि विपक्षी तथा विभिन्न क्षेत्रबाट फरक प्रतिक्रिया पनि आएका छन् ।


विश्व खबर 




















