images
images
  • आफ्नै समूहबाट एक्लिँदै देउवा, शक्तिशाली नेताहरू गगन क्याम्पमा प्रवेश

    काठमाडौं– कांग्रेसको १४औँ महाधिवेशनमा बलियो समूहसहित पार्टी सभापति बनेका शेरबहादुर देउवा अहिले आफ्नै भूमिकाका कारण एक्लिँदै गएका छन् ।

    १४औँ महाधिवेशनमा देउवा प्यानलबाट निर्वाचित उपसभापति पूर्णबहादुर खड्कासहित अधिकांश शीर्ष नेता संस्थापनसँग जोडिएका छन् ।

    समानान्तर महाधिवेशनतर्फ लागेका देउवासँग अब पाँच पूर्वपदाधिकारी र केही नेता मात्रै छन् ।

    विगतमा देउवा समूहमा रहेर प्रभावशाली भूमिका लिएका बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, महालक्ष्मी उपाध्याय, सुरेन्द्रराज पाण्डे, किशोरसिंह राठोर, महेन्द्र यादव, इन्द्रबहादुर बानियाँ, जीवनबहादुर शाही, श्याम घिमिरे र मीनबहादुर विश्वकर्माले देउवाको साथ छाडेका छन् ।

    ईश्वरी न्यौपाने, उमेश श्रेष्ठ, रामहरि खतिवडा र सीता गुरुङलगायतका नेता पनि गगन थापा नेतृत्वको संस्थापनतर्फ लागेका छन् ।

    देउवा पक्षले पहिले उठाएको मागअनुसार विशेष महाधिवेशनअघि कायम रहेका पदाधिकारी तथा सदस्यलाई वर्तमान कार्यसमितिमा समायोजन गर्ने निर्णय भएपछि एकैसाथ करिब ३५ नेताले सोमबार देउवाको साथ छाडेका थिए ।

    नेता श्याम घिमिरेका अनुसार यो संख्या ४० सम्म पुग्न सक्छ ।

    देउवा पक्षमा रहेका ११ नेता यसअघि नै केन्द्रीय कार्यसमितिमा मनोनयन भएका थिए ।

    केही नेता दुवै समूहबाट अलग थिए ।

    आइतबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकले देउवा नेतृत्वको तत्कालीन कार्यसमितिमा रहेका तर विशेष महाधिवेशनपछि बाहिर परेका सबैलाई केन्द्रीय सदस्यमा समायोजन गर्ने निर्णय गरेको थियो ।

    तत्कालीन पदाधिकारी तथा सदस्यहरू स्वतः केन्द्रीय सदस्यमा समायोजन भए पनि महाधिवेशन प्रक्रियामा सहभागी हुन सहमत नेतालाई मात्रै पत्र पठाउने नीति पार्टीले बनाएको छ ।

    समायोजित नेतासहित कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार

    १४औँ महाधिवेशनमा देउवाको प्यानलबाट उपसभापति खड्कासहित आठ पदाधिकारी निर्वाचित भएका थिए ।

    तीमध्ये महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’, आदिवासीतर्फ भीष्मराज आङदेम्बे, मधेशीतर्फ महेन्द्र यादव, खस–आर्यतर्फ किशोरसिंह राठौर, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर र थारू समूहबाट उमाकान्त चौधरी सहमहामन्त्री थिए ।

    तर अहिले चौधरी मात्रै देउवाका पक्षमा छन् ।

    आङदेम्बेले निर्वाचनलगत्तै देउवा समूह छाडेका छन् ।

    उनी अहिले संसदीय दलको नेता छन्। राठौर थापाको हस्ताक्षरबाट टिकट लिएर चुनाव लडेदेखि नै देउवा समूहमा छैनन् ।

    यादवले पनि निर्वाचनलगत्तै देउवा समूह छाडेका थिए ।

    मन्सुर विशेष महाधिवेशनकै अगुवा हुन् ।

    तत्कालीन सहमहामन्त्री महालक्ष्मी उपाध्यायको नेतृत्वमा सोमबार करिब ३५ नेताले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा जाने निर्णय लिएका छन् ।

    विगतमा आफ्नै समूहले उठाएका माग सम्बोधन हुँदा पनि पार्टी एकताको पक्षमा भन्दा समानान्तर महाधिवेशनको तयारीमा जुटेपछि खड्कासहित धेरै नेताले एकैसाथ देउवाको साथ छाडेका हुन् ।

    देउवा पक्षका नेता दीपक कुइँकेल समग्र कांग्रेस नै कमजोर भएका बेला कुन समूह बलियो र कुन कमजोर भनेर छुट्याउने अवस्था नभएको बताउँछन् ।

    ‘घर नै ढलेर खरानी भएको छ भने कुन कोठा ठूलो भनेर कुनै अर्थ हुँदैन,’ उनले भने ।

    यसबीचमा पार्टी एकताको सम्भावना भने नरहेको उनले बताए। ‘राजनीतिमा असम्भव हुन्न तर हामी यतिबेला १५ असोजबाट हुने महाधिवेशनको तयारीमा छौं,’ उनले भने ।

    संस्थापन इतरपक्षमा रहेका नेता शेखर कोइरालाले कुनै महाधिवेशनमा सहभागी नभई तटस्थ बस्ने निर्णय लिएका छन् ।

    तर उनको समूहभित्र महाधिवेशनमा सहभागी हुनुपर्ने दबाब बढ्दै गएको छ ।

    कोइरालाले तटस्थ बस्ने निर्णय गरेपछि उनको पक्षमा रहेका पूर्वउपसभापति धनराज गुरुङ, पूर्वसदस्यहरू दीपक गिरी, कृष्णचन्द्र नेपाली, किरण यादव, चन्द्रमोहन यादव, रुक्मणि कोइराला र टेकप्रसाद गुरुङ सानेपातिर जाने भएका छन् ।

    शेखर पक्षमा रहेका तत्कालीन सहमहामन्त्री बद्री पाण्डे, तत्कालीन सदस्य बलबहादुर केसी, मीनेन्द्र रिजाल, सरिता प्रसाईं र सञ्जय गौतमसमेत छलफलमा छन् ।

    नेता रिजालले पार्टी एकताका पक्षमा रहने नेता तटस्थ बस्न नहुने भन्दै पार्टीको महाधिवेशन प्रक्रियामा सामेल गराउने प्रयासमा छन् ।

    आफू तटस्थ नबसेको जनाउँदै रिजालले क्रियाशील सदस्यता अद्यावधिक गराएलगत्तैबाट आफू महाधिवेशन प्रक्रियामा सहभागी भइसकेको बताए ।

    ‘म मोरङबाट सबैभन्दा पहिलो क्रियाशील सदस्यता अद्यावधिक गरेको मान्छे हुँ, क्रियाशील सदस्यता अद्यावधिक गरेकै दिनबाट म महाधिवेशनको प्रक्रियामा सामेल भइसकें,’ उनले भने ।

    सभापति थापाले यसअघि २८ वैशाखमा पूर्वसभापति देउवा, नेता शेखर कोइराला र शशांक कोइराला समूहका १९ पूर्वपदाधिकारी तथा सदस्यलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनयन गरेका थिए ।

    नेताहरूका अनुसार देउवालाई आफ्नै विश्वासपात्रले छोड्दै जानुपछाडिका धेरै कारणमध्ये पछिल्लो पटक प्रमुख कारण पूर्णबहादुर खड्काको असन्तुष्टि हो ।

    देउवा सिंगापुरबाट फर्किनुअघिसम्म उनको पक्षको नेतृत्व खड्काले सम्हाल्दै आएका थिए ।

    तर देउवा पक्षले आयोजना गरेको २९–३१ साउनको राष्ट्रिय भेलालाई सम्मेलनमा परिणत गरेर पार्टी विभाजनको रेखा कोर्न खोजिएको निष्कर्षमा पुगेर खड्का बन्दसत्रमा सहभागी भएनन् ।

    त्यसयता उनी देउवा समूहबाट अलग भएका हुन् ।

    सभापति थापा एकताका लागि अघि सारिएको माग सम्बोधन गर्न तयार भएपछि महाधिवेशन प्रक्रियामा सहभागी हुनुपर्ने खड्काको धारणा थियो ।

    तर देउवा पक्षले थापालाई सभापतिमा अस्वीकार गर्ने नीति लिएपछि एकता टाढिएको थियो ।

    देउवाको राजनीतिक यात्रामा पछिल्लो एक वर्षका घटनाक्रमले पनि ठूलो मोड ल्याएको छ ।

    जेन–जी आन्दोलनका क्रममा आक्रमणमा परी घाइते भएका देउवाले त्यसको करिब एक महिनापछि २८ असोजको केन्द्रीय कार्यसमिति बैठकमा कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई सुम्पेर आफू सक्रिय राजनीतिबाट अलग हुने मन्तव्य दिएका थिए ।

    त्यसपछि उपचारका लागि सिंगापुर गएका उनी २८ कात्तिकमा फर्किएपछि फेरि राजनीतिक गतिविधिमा सक्रिय भए ।

    पार्टीमा नियमित कि विशेष महाधिवेशन भन्ने विवाद चर्किरहेका बेला देउवाले २१ फागुनको निर्वाचनमा उम्मेदवार चयन र टिकट वितरणमा सक्रिय हुन चाहेका थिए ।

    उनले निर्वाचन आयोगमा आफ्नै हस्ताक्षर पठाए। तर तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीभित्रको असहमतिबीच विशेष महाधिवेशन बोलाएपछि देउवा त्यहीँबाट पार्टी नेतृत्वबाट बाहिरिए ।

    विशेष महाधिवेशनबाट थापा सभापति र शर्मा उपसभापति निर्वाचित भए ।

    त्यसलाई निर्वाचन आयोगले मान्यता दिएपछि कांग्रेसको संस्थागत नेतृत्व थापा पक्षमा पुग्यो ।

    त्यसपछि देउवा आफैं थापा नेतृत्वको कांग्रेसबाट चुनाव लड्ने प्रयासमा पुगे ।

    उनले थापासँग टिकटसमेत मागेका थिए ।

    तर थापा र शर्माले देउवालाई टिकट दिएनन् ।

    उम्मेदवार बन्न नपाएपछि देउवाले मनोनयनको अघिल्लो राति चुनाव नलड्ने घोषणा गरे ।

    मतदानसमेत नगरी १३ फागुनमा उनी सिंगापुर गए ।

    करिब साढे पाँच महिनापछि २८ साउनमा फर्किएर उनी फेरि कांग्रेस राजनीतिमा सक्रिय भएका छन् ।

    विशेष महाधिवेशनलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने गत ४ वैशाखको आफ्नै फैसला पुनरावलोकनका लागि सर्वोच्चले अनुमति दिएपछि देउवाले आफ्नो पक्षको ‘आधा जित’ भएको बताउँदै आएका छन् ।

    सर्वोच्चले पुनरावलोकनको अनुमति दिए पनि पहिलेको फैसला बदर गरेको छैन ।

    यसबीचमा देउवा पक्षले अन्तिम फैसला नआएसम्म महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा पनि अदालतले अन्तरिम आदेश दिएन ।

    यसअघि देउवा समूहमै रहेका नेता मीन विश्वकर्माले पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बनाएर सहमति गर्न सकिने विकल्प अझै बाँकी नै रहेको बताउँछन् ।

    ‘शेरबहादुर दाइ प्रमुख अतिथि भई महाधिवेशन उद्घाटन गरेर तथा शेखर र पूर्ण दाइ वरिष्ठ नेताका रूपमा बसेर पार्टीमा एकता कायम गर्न सकिने विकल्प बाँकी नै छ,’ उनले भने, ‘त्यसका लागि संवाद टुटाउनु हुन्न ।’

    क–कसले छाडे देउवाको साथ ?

    हालै छाडेका– महालक्ष्मी उपाध्याय (डिना), सुरेन्द्रराज पाण्डे, इन्द्रबहादुर बानियाँ, जीवनबहादुर शाही, श्यामप्रसाद घिमिरे, मीनबहादुर विश्वकर्मा, ईश्वरी न्यौपाने, रामहरि खतिवडा, नैनसिंह महर, गोविन्द भट्टराई, सीताकुमारी राना, सरस्वती बजमयी, मानबहादुर नेपाली, उमेशजंग रायमाझी, सीता गुरुङ, शान्ति परियार, सुशीला थिङ, गणेश लामा, रमा कोइराला पौड्याल, ललितजंग शाही, प्रदीपकुमार सुनुवार, राधा घले, अनिल रुँगटा, माया राई, कान्तिका सेजुवाल, मीनाक्षी झा, कल्पना चौधरी, सरस्वती अर्याल, हरिशरण नेपाली, कृष्ण यादव, चन्द्र केसी, जावेदा खातुन, महेन्द्र लिम्बू, भीम पराजुली र हरिशरण नेपाली। वैशाखमा छाडेका– महेन्द्र यादव, उमेश श्रेष्ठ, रमेश रिजाल, अजयकुमार चौरासिया, लक्ष्मी परियार, आङ्गेलु शेर्पा, दिनेशकुमार यादव, राजीव ढुंगाना, सुशीला मिश्र भट्ट, नागिना यादव र जीवन राना ।

    को–को छन् देउवाको साथमा ?

    शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशरण महत, एनपी साउद, रमेश लेखक, शंकर भण्डारी, मोहनबहादुर बस्नेत, भीमसेनदास प्रधान, दीपक खड्का, पूर्णबहादुर तामाङ (कान्छाराम), कुन्दनराज काफ्ले, जितजंग बस्नेत र दीपक कुइँकेल ।

    क–कसले छाडे शेखरलाई ?

    हालै छाडेका– धनराज गुरुङ, दीपक गिरी, कृष्णचन्द्र नेपाली, किरण यादव, चन्द्रमोहन यादव, रुक्मणि कोइराला र टेकप्रसाद गुरुङ ।

    वैशाखमा छाडेका– जीवन परियार, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, चन्द्र भण्डारी, राजीव कोइराला, गोविन्दराज पोखरेल र दिनेश कोइराला ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images